क्रान्तिकारी माओवादी सडकमा : सरकारविरुद्ध देशभर विरोध प्रदर्शन र सभा सम्पन्न

२०७७ मंसिर २६ गते, शुक्रबार


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले , जनजीविकालगायत सरकारले गरेका जनविरोधी, राष्ट्रविरोधी कामको विरोध र भण्डाफोर गर्दै शुक्रबार देशभर बिरोध प्रदर्शन र सभा सम्पन्न गरेको छ। यसैक्रममा सो पार्टीले काठमाडौंको शान्तिबाटिकामा जुलुससहित विरोध प्रदर्शन र सभा सम्पन्न गरेको छ । शान्तिबाटिकाबाट सुरु भएको विरोध ¥याली पुरानो बानेश्वर, भद्रकाली, वायुसेवा निमग, वीर अस्पताल हुँदै शान्तिबाटिकामा पुगेर विरोधसभामा सम्पन्न भएको थियो । जुलुसमा रोक लगाउन खोजेपछि प्रहरीसँग ठाउँ ठाउँमा झडप समेत भएको थियो ।
विरोधसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, पार्टी पीवीएम तथा ३ नं. प्रदेश इन्चार्ज दिनेश शर्मा सागर, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा. ओम गुरुङ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, अनेमसंघ (क्रान्तिकारी)की महासचिव शारदा महत, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, क्रान्तिकारी युवा लिगका उपाध्यक्ष केशव ढलकोटी, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका सचिव श्रीकृष्ण सुलु, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संयोजक प्रेम तामाङ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
सम्बोधनको क्रममा नेता सीपी गजुरेलले बन्दुकको आडमा टिकेको सत्ता बन्दुकले नै भत्काउने छौं भन्दै शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई अवरोध गरेर राज्यले फासिवादी चरित्र प्रदर्शन गरेको बताउदै ओली सरकार सम्पूर्ण रुपमा असफल र बद्नाम भएको भन्दै यो सत्ता र व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र मात्र भएको ठोकुवा गरे । उनले सम्पूर्ण देशभक्त र कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर अब संघीय जनगणतन्त्र प्राप्तिका लागि संघर्ष गर्नुको विकल्प नरहेको चर्चा गर्दै त्यसका लागि सार्वजनिक आव्हान समेत गरे ।
सभाका प्राय सबै वक्ताहरुले कार्यक्रममा प्रहरीले गरेको अवरोधको कडा विरोध एवम् भत्र्सना गर्दै शान्तिपूर्ण कार्यक्रमको रोक लगाउन खोजेर ओली सरकारले फासिवादी चरित्र प्रदर्शन गरेको बताएका थिए । सो पार्टीका पीवीएम तथा नेवाः मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले अध्यक्षता गरेको विरोध सभाको सञ्चालन पार्टी पीवीएम तथा प्रदेश सचिव प्रवेशले गर्नुभएको थियो । कार्यक्रममा दलाल संसदीय व्यवस्था मूर्दावाद, संघीय जनगणतन्त्र जिन्दावाद, अतिक्रमित भूमि फिर्ता गर, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर लगायतका नाराहरु लगाइएका थिए ।
यसैगरी , रौतहटको चपुरमा नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र अन्य जबस मोर्चाको संयुक्त आयोजनामा विरोध सभा सम्पन्न गरिएको छ । वर्तमान सत्ता, व्यवस्था र संविधानको विकल्पमा संघीय जनगणतन्त्र स्थापना गरौं भन्ने मूल नाराका साथ आयोजना गरिएको विरोधसभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य, पार्टी प्रवक्ता तथा पूर्वी व्यूरो इन्चार्ज हरिभक्त कँडेल प्रतीकले सम्बोधन गरेका थिए । उनले ओली नेतृत्वको सरकार कम्युनिस्ट नभएर विदेशीको दलाल भएको, कथित संघीय लोकतान्त्रिक गणतन्त्र दलाल र पुँजीपतिहरुको भएको र यो सरकार सम्पूर्ण रुपले असफल र बदनाम भएकोले अब संघीय जनगणतान्त्रिक राज्यव्यवस्थाका लागि लड्नु पर्ने बताए । विगतमा भएका युद्ध र आन्दोलन नै संघीय जनगणतन्त्रका निम्ति भएको हुनाले अब त्यो व्यवस्था प्राप्तिका लागि सबै देशभक्त र क्रान्तिकारी शक्तिहरु एकजुट भएर लड्नुपर्ने बेला आएको उनको कथन थियो ।
कार्यक्रमलाई दजमोको तर्फबाट भुवनप्रसाद चौलागाईले सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन रौतहट सेक्रेटरी सचिव प्रल्हाद साहले गरेका थिए । चपुरको सडक डिभिजन कार्यालयबाट सुरु भएको विरोध ¥याली बसपार्कमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
त्यसैगरी सिरहाको गोलबजारमा आयोजना गरेको विरोधसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सचिव रामनारायण सिंह लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । विरोधसभाअघि निकालिएको विरोध ¥यालीले गोलबजार नगरपरिक्रममा गरेको थियो । कार्यक्रममा सरकारका विरुद्ध चर्को नाराबाजी गरिएको थियो ।
यसैगरी , नेकपा (क्रान्तिकारी माओवादी) कञ्चनपुरले वर्तमान संसदीय व्यवस्थाका विकल्पको रुपमा संघीय जनगणतन्त्र भन्ने मुल नाराका साथ विरोध कार्यक्रमहरु सञ्चालन गर्ने पार्टी केन्द्रको निर्णय अनुसार कञ्चनपुरको मदनचोकमा विरोध रयाली र सभा सफलतापूर्वक सम्पन्न गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी), जनवर्र्गीय संगठन र मोर्चाको आयोजनामा गरिएको उक्त विरोध सभाको सञ्चालन जिल्ला सेक्रेटरी कैलाशद्धारा गरिएको थियो भने विरोध सभालाई पार्टी केन्द्रीय सदस्य हरी सुवेदी, देजमो केन्द्रीय सदस्य तथा प्रदेश सदस्य विष्णुराम नेपाली, पार्टी प्रदेश सचिव रामबहादुर महराले एमसीसी, गणतन्त्र तथा जनताका समस्याहरुवारे सम्वोधन गरेका थिए । सम्वोधनको क्रममा राम बहादुर महरा भनेका थिए–“आफ्नो सुरक्षा गर्न नसकेका त्रिभुवन का सन्तान भाङ र धतुरोमा रमाउनेहरु कुनै पनि हालत देशका निम्ति योग्य हुन सक्दैनन । महान जनयुद्ध र जनआन्दोलनले चिहानमा डढाएको राजतन्त्रको निम्ति संघर्ष गर्नेहरु यो देशको प्रगतिको बाधन हुन त्यसैले यिनको सडकबाटै प्रतिकार गर्नु पर्दछ । दलाल संसदीय ब्यबस्थाले जनतालाई सुखसुबिधा दिन सक्दैन । किसानको पिरमार्का बुझ्दैन यसले गर्ने भनेको भ्रष्टाचार जनघात र राष्ट्ररघात नै हो त्यसैले संघिय जनगणतन्त्र नै अबको अब्बल बिकल्प हो यस निम्ति अन्तिम लडाइँ एकताबद्ध भएर लड्नु पर्दछ ।”
यता ,नेकपा (क्रान्तिकारी माओवादी)ले लुम्बिनी प्रदेशको नेपालगन्जमा पनि नारा जुलुससहित विरोध प्रदर्शन गरेको छ । पार्टी, देजमो र जबस मोर्चाको ५ नंं प्रदेशको संयुक्त आयोजनामा नेपालगन्जको धम्बोजी चोकमा विरोधसभा भव्य रुपमा सम्पन्न गरियो । विरोधसभालाई पार्टी पिविएम तथा बाँके , बर्दिया इन्चार्ज भुपेन्द्र न्यौपाने र पार्टीका केन्द्रीय सदस्य तेजबिक्रम शाही लगायतका नेताहरुले सम्बोधन गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले राज्य देश र जनताको सुरक्षा गर्न असफल भएको हुँदा अब हतियार उठाउन आफुहरु तयार रहेको चेतावनी दिए ।
क्रान्तिकारी माओवादीको सम्पन्न पीवी बैठकले भारतद्वारा कब्जा गरिएको लिम्पियाधुरा सहितको भूभाग फिर्ता, एमसीसीको विरोध, भ्रष्टाचार, महङ्गी, वालिका–महिला बलात्कार तथा हत्या, मजदुरहरुको निष्काशन तथा कटौतीको विरोध, किसानहरुका लागि मलखाद तथा उत्पादित वस्तुको बजार एवम् सहुलियत ऋणको व्यवस्था, स्वदेशमै रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, हित तथा जनजीविकाका विषयलाई लिएर स्वतन्त्र तथा संयुक्त रुपमा विभिन्न प्रकारका सङ्घर्ष तथा आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यसैगरी, नेकपा (क्रान्तिकारी माओवादी) दैलेखले मंसीर २५ गते देशैभरी “वर्तमान राज्यसत्ता, व्यवस्था र सरकारको विकल्पका रुपमा संघीय जनगणतन्त्र“भन्ने मुल नाराका साथै सरकारको अकर्मण्यता, कालाबजारी, घुसखोरी, भ्रष्टचार र उदासिनताका विरुद्ध विरोध रयाली र सभा सपलतापूर्वक सम्पन्न गरेको छ । उक्त विरोध कार्यक्रम नारा जुलुससहीत दैलेख भैरवी गाउँ पालिका स्थित खम्वागाडे बजारको खानेपानी चोकबाट सुरु भई बजार परिक्रमापछि चामुण्डा रोड चोकबाट प«न फिर्ता भई विरोधसभामा परिणत भएको थियो । नेकपा (क्रान्तिकारी माओवादी), जनवर्र्गीय संगठन र मोर्चाको आयोजनामा गरिएको उक्त विरोध सभालाई तमुरामुमोर्चाका केस पूर्णबहादुर गुरुंगद्धारा सञ्चालन गरिएको थियो । विरोधसभालाई पार्टी केस तथा दैलेख जिल्ला इन्चार्ज कृष्णबहादुर गुरुंग (असमान), पूर्व जनमुक्ति सेनाका ल्पलाटुन भिसी चन्द्र सिंह (चिर्को)ले सम्वोधन गरेका थिए । उक्त विरोधसभामा स्वागत मन्तव्य पार्टी डिसिएम मन्तबहादुर सिंहले गरेका थिए ।
उक्त विरोधसभाको अतिथिमा वेपत्ता तथा सहीद परिवारका जिल्ला संयोजक तथा पार्टी डिसिएम अमरबहादुर शाही र पार्टी जिल्ला कमिटि सल्लाहाकार सदस्य मानबहादुर सिंह थिए । सम्वोधनका क्रममा पार्टी केस तथा दैलेख जिल्ला इन्चार्ज कृष्णबहादुर गुरुंग (असमान)ले अहिलेको राज्यसत्ता ध्वस्त नभएसम्म जनताको राज्यसत्ताको स्थापना हुन सक्दैन त्यसैकारण जनताले यो राज्यसत्तालाई ध्जस्त पारी संंघीय जनगणतन्त्र नेपालको स्थापना गर्नु अनिवार्य छ भन्दै अहिले केपी प्रचण्डहरुले समाजवादको नारा दिएर जनतालाई भ्रममा राखि नेपालमा दलाल तथा नोकरशही पुँजीवादलाई सुदृढ गरीरहेका छन् । देश र जनताको पक्षमा नभएका प्रचण्ड र केपीको पार्टी विभाजन अनिवार्य छ, त्यसको विकल्प देखिदैन भन्नेमा जोड दिएका थिए । उक्त विरोध सभाको अध्यक्षता दैलेख जिल्ला पार्टी सचिव विरेन्द्र सिंहले गरेका थिए ।
यसैगरी, नेकपा (क्रान्तिकारी माओवादी)डडेल्धुराले वर्तमान संसदीय व्यवस्थाका विकल्पको रुपमा संघीय जनगणतन्त्र भन्ने मुल नाराका साथ विरोध कार्यक्रमहरु सञ्चालन गर्ने पार्टी केन्द्रको निर्णय अनुसार डडेल्धुरामा विरोध रयाली र सभा सफलतापूर्वक सम्पन्न गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी), जनवर्र्गीय संगठन र मोर्चाको आयोजनामा गरिएको उक्त विरोध सभाको सञ्चालन प्रदेश सदस्य भुवन धामीद्धारा गरिएको थियो भने विरोध सभालाई पार्टी केन्द्रीय सदस्य लाल किरणले सम्वोधन गरेका थिए ।
त्यसैगरी दार्चुला र डोटीमा पनि विरोध कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएका छन् । दार्चुलामा गरिएको विरोध कार्यक्रमलाई देजमो जिल्ला अध्यक्ष जगत धामीले सम्वोधन गरेका थिए । डोटीमा जिल्ला सेक्रेटरी नन्द थापाले सम्वोधन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु