सरकार थप फासीवादीकरणको दिशातिर

२०७७ मंसिर २९ गते, सोमबार

हस्तबहादुर केसी

नामधारी तथा कम्युनिस्ट पार्टीको खोल ओढेको सत्ताधारी नेकपाको केपी ओली नेतृत्वको दलाल तथा फासीवादी सरकार थप फासीवादीकरणको दिशातिर गइरहेको छ । नेकपा (क्रान्तिकारी माओवादी) को पहलमा संचालित २२ दलीय मोर्चाले सडक संघर्षका गतिविधिहरु अगाडि बढाइरहेको र विप्लव नेतृत्वको नेकपाका राजनीतिक गतिविधिहरुलार्ई आधार बनाएर ओली नेतृत्वको दलाल सरकारले आफ्ना फासीवादी हर्कतहरुलार्ई थप अगाडि बढाइरहेको छ । भ्रष्टाचारी, दलाल, माफिया, कमिशखोर, तस्कर, हत्यारा, बलत्कारी, अपराधी आदिले चलाएको ओली नेतृत्वको दलाल सरकार जनताका शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी, गास, बास, कपासलगायत नेपाली जनताका आधारभूत आवश्यकताहरु पूरा गर्न असफल भए पछि उसको विरोध गर्ने, जनतालार्ई सचेत बनाउनेहरुमाथि भीषण दमनचक्र चलाएर तानाशाही शासन चलाउन उद्यत भइरहेको छ ।

भ्रष्टाचार मौलाएको, भारतीय विस्तारवादले नेपाली भूमि मिच्दा फिर्ता गराउने आँट नदेखाएको, एमसीसी पास गराउन लागिपरेको र नेपाललार्ई रणभूमि बनाउन कस्सिएको, हत्यारा, बलत्कारी, भ्रष्टाचारीहरुलार्ई संरक्षण गरेर अपराधीकरण गरेको, कोभिड १९ को व्यवस्थापन गरेर नेपाली जनताको जीवन रक्षा गर्नुपर्नेमा उल्टै त्यसको नाममा अरबौको भ्रष्टाचार गरेको, गुटगत स्वार्थमा चुर्लुम्म डुबेको दलाल सरकारको नालायकीपनका कारण आज जनतामा व्यापक असन्तुष्टि र निरासा पैदा भएको मौका छोपेर राजावादीहरु अर्थात् पश्चगामीहरु सडकमा उत्रन थालेका छन् । यिनै कारणहरुले गर्दा आज मुलुक गम्भीर मोडमा पुगेको छ । सरकारलार्ई सही निर्देशन दिनुको सट्टा सत्ताधारी नेकपा भागबण्डा र सत्ता लुछाचुँडीमा मारामार गरिरहेको छ, जनताको सम्पत्ति कसरी लुट्ने खेलमा प्रचण्ड र केपी ओली गुटको बीचमा साँढे जुधाई चलिरहेको छ ।

कोभिड १९ को कहरका कारण, यसको महामारी फैलिएका कारण नेपाली जनताको जीवन अत्यन्तै कष्टकर र दयनीय बनिरहेको छ । आज मजदुरहरु भोकभोकै मर्ने अवस्थामा पुगेका छन् । करीब १० देखि स्कुल, कलेजहरु कोभिडको जोखिमका कारण बन्द हुन पुगेकाले आज लाखौं विद्यार्थीहरुको भविष्य संकटमा परेको छ । बेरोजगारीका कारण लाखौं नेपाली युवाहरु विश्वव्यापी रुपमा फैलिएको कोभिडको जोखिमलार्ई समेत सामना गर्दै विदेश पलायन हुन बाध्य भइरहेका छन् । देशभित्र कुनै रोजगारीको सृजना गर्नुपर्ने काममा दलाल सरकारको ध्यान छैन । उल्टै भ्रष्टाचार गर्न मै तल्लीन छ । किसानहरुले समयमै मल नपाएर ठूलो नोक्सानी ब्यहोर्न बाध्य छन् । किसानहरुले धानको उचित मूल्य पाइरहेका छैनन् । किसानहरुको उखुको मूल्य अहिलेसम्म यो दलाल सरकारले भुक्तानी दिएको छैन ।

एकातिर यस प्रकारको बिकराल अवस्था पैदा भएको छ भने अर्कोतिर दलाल सरकार प्रतिक्रियावादी संसदभित्र प्रतिनिधित्व गर्ने संसदीय स्यालहरुलार्ई जम्मा गरेर यो सढेगलेको संसदीय व्यवस्थालार्ई नमान्ने, नेपालको वर्तमान पश्चगामी तथा प्रतिक्रियावादी संविधानलार्ई अस्वीकार गर्ने आमूल परिवर्तनकारी शक्तिहरु, खासगरी क्रान्तिकारी माओवादी कम्युनिस्टहरू र क्रान्तिकारी कम्युनिस्ट पार्टीका गतिविधिहरु माथि दमन गर्नका लागि सर्वदलीय बैठक बोलाएर दमनको तानाबाना बुन्ने खेलमा लागिरहेको छ, ओली नेतृत्वको दलाल सरकार ।

यसका अतिरिक्त दुई वर्ष पहिलेदेखि यही दलाल तथा प्रतिक्रियावादी ओली सरकारद्वारा प्रतिबन्ध लगाइएका विप्लव नेतृत्वको नेकपाका गतिविधिहरुलार्ई निहुँ बनाएर पुलिस फोर्सलार्ई उच्च सतर्कता, अपनाउन र हतियारसहित तैनाथ रहन देशभरका सम्पूर्ण प्रहरी कार्यालयहरुमा परिपत्र जारी गरेर देशव्यापी रुपमा श्वेतआतंक सृजना गर्दै छ । यो साम्राज्यवादी तथा विस्तारवादीहरुको इशारामा सञ्चालन भइरहेको ओली नेतृत्वको दलाल तथा भ्रष्ट सरकार ।

ओली नेतृत्वको दलाल सरकारको जनविरोधी र राष्ट्र विरोधी हर्कतहरुले गर्दा नेपाली भूमि क्रान्तिका लागि उर्बर भूमि बनिरहेको छ । आज महान् नेपाली क्रान्तिका लागि मैदान खाली छ । यस्तो अवस्थामा देशभर छरिएर रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी र शक्तिहरु एकजुट भएर विशाल तथा एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गरेर क्रान्तिका लागि क्रान्तिकारी आन्दोलनको आँधीबेरी सृष्टि गर्न जरुरी छ । र, आज संसदीय व्यवस्थाको विकल्प संसदीय व्यवस्था हुन सक्तैन । संसदीय व्यवस्थाको विकल्प जनताको संघीय जनगणतन्त्र भएकोले यसको स्थापनाका लागि नेपालका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले एकताबद्ध भएर आन्दोलनको तुफानी आँधीबेरी सृष्टि गर्नको विकल्प छैन ।

(लेखकः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।)

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु