नेकपाद्वारा प्रहरी हिरासत मृत्यु भएका पुनकाे बिषयमा छानविन गर्न माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रहरी हिरासतमा रहेका म्याग्दीका नेता जगेन्द्र पुन ‘जगत’को मृत्यु प्रकरणबारे सत्यतथ्य छानविन गर्न सम्पूर्ण अधिकारकर्मीहरुसँग माग गरेको छ । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विप्लवले मंगलवार एक विज्ञप्ति मार्फत मानवअधिकारवादी, कानुनविदहरुसँग पुनको मृत्यु प्रकरणबारे तथ्य तथ्य कुरा सार्वजनिक गर्न माग गरेका हुन् । पुनको मृत्युबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विप्लवले राज्यको नियन्त्रणमा रहेका उनको उपचार नपाएर मृत्यु भएको उल्लेख गरेका छन् ।
‘राज्यको नियन्त्रणमा रही बिरामी अवस्थामा समेत उपचार नपाई मृत्यु भएको घटनाले राज्यको बास्तबिक चरित्र र राजबन्दीप्रतिको व्यवहार छर्लंग भएको छ,’ विप्लवद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘ आफु बिरामी भएको जानकारी गराउँदा समेत समयमै उपचार कार्यमा बेवास्ता गरी जेल प्रशासनसमेत अपराधिक कार्यमा संलग्न रहेको स्पष्ट हुन्छ।’ विप्लवले घटनाबारे छानविन गरि सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारवाही गर्न समेत माग गरेका छन्।
