बेलायतद्वारा ‘प्राथमिकता भिसा’ सेवा

२०७० मंसिर ११ गते, मंगलवार


काठमाडौ, ११ मंसिर – बेलायती दूतावासले पहिलो पटक ‘प्रायोरिटी भिसा’ सेवाअन्तर्गत आवेदन दिएको ६ दिनभित्र राहदानी फिर्ता गर्न थालेको छ । राजदूत एन्डी स्पाक्र्सले शुक्रबार यस सेवाअन्तर्गत पहिलो पटक निवेदन दिएका प्रेमकुमार राई र छली राईको राहदानी फिर्ता गरेको बेलायती दूतावासले जनाएको छ । बेलायतले नोभेम्बर ६ देखि लागू हुने गरी भिसासम्बन्धी यो सेवा सुरु गरेको हो ।
गर्भवती छोरीको स्वास्थ्य अवस्था जोखिममा रहेकाले छिटो बेलायत जान परेका उनीहरूले ‘प्रायोरिटी भिसा सर्भिस’ अन्तर्गत निवेदन दिएका हुन् । ‘हाम्रो प्रायोरिटी भिसा सेवाले राई परिवारजस्ता मानिसहरूलाई महत्त्वपूर्ण पारिवारिक अवसर वा व्यावसायिक मामिलाका लागि छिटो बेलायत पुग्न सहयोग पुर्‍याउन थालिसकेको छ,’ विज्ञप्तिमा राजदूत स्पाक्र्सले भनेका छन्, ‘छोटो सूचनामा यूके जानुपर्ने र त्यसका लागि योग्य रहेका जोकोहीलाई पनि यो सेवाको लाभ उठाउन म प्रोत्साहन गर्छु र मलाई विश्वास छ, यसले यूके नेपाल सम्बन्धलाई मजबुत बनाउनेछ ।’आवेदकहरूले भ्रमण भिसाका लागि अतिरिक्त ७ हजार रुपैयाँ शुल्क तिरेपछि ‘प्रायोरिटी भिसा’ सेवामा आवेदन दिन पाउँछन् । यस्तो सेवाअन्तर्गत दिइएको निवेदन तीव्र रूपमा अघि बढ्ने र ६ दिनभित्र (बिदाबाहेक) डकुमेन्ट नै फिर्ता दिने व्यवस्था छ । यो सेवा विद्यार्थी भिसाअन्तर्गत निवेदन दिनेलाई भने उपलब्ध छैन । भ्रमण भिसामा निवेदन दिनेले ५ वर्षयता बेलायत, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा वा सेन्जेन मुलुकमध्ये कुनै एकमा बिना व्यवधान भ्रमण गरेको हुनुपर्ने दूतावासले जनाएको छ । भिसा निवेदनका लागि ग्राहकले अनलाइनबाट पनि समय लिन सक्नेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु