नायक भनिएकाहरु नै ‘खलनायक’

अहिले देशमा संसद विघटन र पुनर्स्थापन अनि पार्टी विभाजन र पुनर्गठनका दुई भिन्न रुप तर सार समान बोकेका दुई व्यक्ती, शक्ति र प्रवृत्ती बीच अत्यन्त तीखो र तीतो संघर्ष जारी छ । यसाले गर्दा नेपाललाई यो समय संक्रमण काल मात्र नभै संकटकाल समेत भएको छ र अझ यो संकटकालको पनि संकटकाल अर्थात् महासंकटकाल हुने देखिंदै छ ! यो एक निकै नै गम्भीर, खतरनाक र भयावह प्रसवपीडाको काल जस्तै हो ! जसरी प्रसवपीडाकालमा intensive care र cure पुगे विशाल बाल जन्मिने र जोगिने सम्भावना हुन्छ अन्यथा आमा र बच्चा दुवैको अकाल काल हुनसक्छ !
अर्को शब्दमा भन्नुपर्दा यो अन्तरिम काल हो ! अन्तरिम काल भनेको पुराना व्यक्ती, वृत्ती, विधि, विधान, व्यवस्था र वाटोबाट जनता वाक्क-दिक्क र हुक्क-निरन्न भएको र नयाँ व्यक्ती, वृत्ती, विधि, विधान,व्यवस्था र बाटोको विकल्प चाहेको तर पनि त्यो विकल्प मूर्तरुपमा आमसहमतिमा न आइसकेको सारै नै सकस र सास्तीबाट गुजृनु परेको संकटपूर्ण काल हो ! महिलाको प्रसवकालमा जन्म र मृत्यु जस्ता दुई विपरीत र ठुलठुला सम्भावित परिणाम हुने तर के हुने भन्ने आशंका हुने गरेजस्तै संक्रमणकालमा पनि देसको अग्रगमन हुने वा पश्चगमन हुने, क्रान्ती हुने वा प्रतिक्रान्ती हुने, न्याय हुने कि अन्याय हुने, शान्ती हुने कि युद्ध हुने, के हुने भन्ने अनिश्चित हुन्छ । हाल नेपालमा ठिक यही भैरहेको संवेदनशील र गम्भीर अवस्था छ । नेपालको यो पछिल्लो संक्रमणकाल धेरै लामो, दुखदायी र संकटमय नै रहिआएको छ ! यसका पछाडि जनताको अग्रगामी र क्रान्तिकारी चेतना तर नेताहरुको भने पश्चगामी र प्रतिक्रान्तिकारी चेतना हुनु, शोषित-शासितहरुका जुझारु र निर्णायक कामकार्वाहीहरु हुनु तर शासकहरुका संझौतावादी र आत्मसमर्पणवादी चिन्तन र चरित्र हुनु अनि यी दुईथरी शक्ति र प्रवृत्तिबिचको अन्तर्विरोध पनि गुणात्मक रुपले हल नहुनु जस्ता कारणहरु रहेका छन् । साथै नेता-शासकहरुका अन्यायपूर्ण, अविवेकपुर्ण, अत्याचारी, स्वार्थी, कृतघ्नी, विश्वासघाती, धोकापूर्ण, दलालीपूर्ण र गद्दारीपूर्ण चिन्तन, चरित्र र कृयाकलापहरु अनि शासित जनता-कार्यकर्ताहरु पनि केही हदसम्म भ्रमित र विचलित हुनु पनि एक अर्को कारण रहेको देखिन्छ । हाल यो संक्रमणकाल टुङ्गिनु पर्नेमा झन् झन् गम्भीर, भयावह र विकराल हुनुमा देश , जनता र क्रान्तिका नायक भनिएकाहरुका सिद्धान्तदेखी व्यवहारसम्म विचलित र विकृत अनि वैचारिक-राजनीतिकदेखि आर्थिक-साँस्कृतिक र नैतिक-दैहिकसम्मका विविध रुपका भ्रष्ट, दुष्ट र निकृष्ट कामकुराहरु नै मुख्य रुपमा जिम्मेवार छन् !