कोरोनाविरुद्धको खोप ‘नोभाभ्याक्स’ ८९ प्रतिशत प्रभावकारी

काठमाडौँ । कोरोना भाइरसविरुद्ध विकास गरिएको नोभाभ्याक्स खोप ८९ प्रतिशत प्रभावकारी देखिएको छ । अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले बेलायतमा गरेको परीक्षणमा यस्तो नतिजा आएको हो । बेलायतका १५ हजार मानिसमा गरिएको परीक्षणमा त्यस्तो नतिजा पाइएको नोभाभ्याक्सले जनाएको छ । परीक्षणमा सहभागी एक चौथाईभन्दा धेरै मानिसहरू ६५ वर्ष उमेर माथिका भएको उसले जनाएको छ । फाइजर र मोडेर्नाको खोपभन्दा फरक नोभाभ्याक्स फ्रिजको नियमित तापक्रममा भण्डारण गर्न सकिने बताइएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले परीक्षण नतिजालाई सुखद भनेका छन् । स्वास्थ्यमन्त्री म्याट ह्यानककले खोप स्वीकृत भएमा राष्ट्रिय स्वास्थ्य सेवा वितरण गर्न तयारी अवस्थामा रहेको बताएका छन् । बेलायतले आफ्नै देशको स्टकटन अन टिज शहरमा उत्पादन गरिने यस खोपको छ करोड मात्रा सुनिश्चित गरिसकेको छ । बेलायतको नियामक निकायले स्वीकृत दिएमा सन् २०२१ को दोस्रो अर्धवार्षिक अवधिमा यो खोप उपलब्ध हुने अपेक्षा गरिएको छ ।
अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपपछि नोभाभ्याक्स बेलायतमा ठूलो मात्रामा परीक्षण गरिएको दोस्रो खोप हो । बेलायतले हालसम्म अक्सफोर्ड र एस्ट्राजेनिका, फाइजर र बायोएनटेक र मोडेर्ना खोपलाई प्रयोगका लागि अनुमति दिएको छ ।
यसैबीच , कोरोना भाइरसका कारण पुरुषको प्रजनन् क्षमतामा असर पर्ने एक अध्ययनले देखाएको छ । रिप्रडक्शन जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार कोभिड–१९ बाट गम्भीर विरामी परेका पुरुषको वीर्यको गुणस्तरमा असर पुग्ने देखिएको हो । व्यक्तिको शुक्राणुको गुणस्तरमा असर परेसँगै यसले उसको प्रजनन् क्षमतामा पनि प्रभावित पार्नसक्ने बताइएको छ । अध्ययनमा भनिएको छ, ‘यो रिपोर्ट पहिलो प्रत्यक्ष प्रमाण दिन्छ कि कोभिड–१९ संक्रमणले वीर्यको गुणस्तर र पुरुष प्रजनन् क्षमतालाई प्रभावित पार्दछ ।’
कोभिड–१९ संक्रमित पुरुष र स्वस्थ पुरुषको वीर्य जाँच गर्दा स्वस्थ पुरुषको तुलनामा संक्रमित पुरुषको शुक्रकिट केही जलेको, फुलेको जस्तो असामान्य रुपमा फेला परेको हो । फ्लू जस्तो कुनै पनि भाइरसबाट विरामी पर्नेको केही हप्ता या महिनासम्म शुक्रकिटको संख्या (कहिलेकाहिँ शून्यसम्म पनि) अस्थायी रुपमा कम हुनसक्ने बताइएको छ । अध्ययन ठूलोस्तरमा गरिएको नभए पनि कोभिड–१९ संक्रमित नभएका १०५ प्रजननयोग्य पुरुष र ८४ जना कोभिड–१९ संक्रमणयुक्त पुरुषका बीचमा तुलनात्मक रुपमा हेरिएको जनाइएको छ । दश दिनको अन्तररालमा ६० दिनसम्म उनीहरुको वीर्यको विश्लेषण गरिएको थियो ।
त्यसबीचमा कोभिड–१९ बाट संक्रमित व्यक्तिको शुक्रकिट स्वस्थ व्यक्तिको तुलनामा केही जलेको जस्तो, सुन्निएको जस्तो पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । शुक्राणु की एकाग्रता, गतिशीलता र आकार पनि भाइरसबाट नकारात्मक रुपमा प्रभावित बनेको पाइएको उक्त अध्ययन प्रतिवेदनलाई उल्लेख गर्दै सिएनएनले जनाएको छ ।