राष्ट्रपतिका आलोचकलाई साढे तीन वर्ष जेल !

२०७७ माघ २१ गते, बुधबार


काठमाडौं । रुसको अदालतले राष्ट्रपति भ्यादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ । पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उल्लङ्घन गरेको भन्दै उनलाई जेल सजाय तोकिएको हो । नाभाल्नीले यसअघि नै घरमै नजरबन्दमा एक वर्ष बिताइसकेका छन् । नाभाल्नीका वकिलले अदालतको निर्णयविरुद्ध पुनरावेदन दिने बताएका छन् । अदालतले सजाय सुनाएलगत्तै अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिक्रिया आएका छन् ।
युरोपेली महादेशकै मानवअधिकारसम्बन्धी अग्रणी निकाय काउन्सिल अफ युरोपले अदालतको फैसलाले विश्वसनीयतालाई उपेक्षा गरेको जनाएको छ । बेलायतका विदेशमन्त्री डोमिनिक राबले फैसलालाई खोटयुक्त भनेका छन् ।
त्यस्तै जर्मनीका विदेशमन्त्री हाइको मासले फैसलालाई नागरिक स्वतन्त्रता र कानुनी शासनमाथि धक्का भनेका छन् । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नभाल्नीलाई बिना कुनै सर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् । रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पश्चिमा देशहरूलाई प्रतिक्रिया जनाउँदै उनीहरूलाई आफ्नै समस्यामा केन्द्रित हुन आग्रह गरेकी छिन् । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु