‘रणनैतिक संयुक्त मोर्चाको लक्ष्य जनगणतन्त्र र वैज्ञानिक समाजवाद’

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले चार कम्युनिस्ट पार्टीको रणनैतिक संयुक्त मोर्चाको लक्ष्य जनगणतन्त्र र वैज्ञानिक समाजवाद रहेको बताउदै सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गर्नु रहेको बताएका छन् । महासचिव किरणले नेपाल कम्युनिस्ट पार्टी, ने.क.पा.(क्रान्तिकारी–माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले गठन गरेको रणनैतिक संयुक्त मोर्चाको घोषणा सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
उक्त अबसरमा महासचिव किरणले जनगणतन्त्र र वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्य पूरा गर्न आवश्यक परे अन्तिम युद्ध लड्न तयार रहेको समेत उदघोष गरे । उनले आज देशमा देखा परेको संकट कुनै व्यक्ति विशेषको मात्र नभएर सिंगो ब्यवस्थाको असफलता भएको ठोकुवा गर्दै नेपालमा व्यवस्थाको मात्र असफलता नभई दक्षिणपन्थी संशोधनवादको पनि असफलता भएको ठोकुवा गरे । किरणले अब केपी ओली र प्रचण्डहरुको दिन गएको बताउँदै नेपालमा क्रान्तिकारीहरुको जित हुने र त्यसको नेतृत्व आफुहरुले गर्ने ठोकुवा गरे ।
यसैगरी , सोहि सभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध ओली सरकारले छिटो फिर्ता लिनुपर्ने बताए । उनले सरकारले प्रतिबन्ध फिर्ता नलिए क्रान्तिकारी जनताले त्यसको प्रतिरोध गर्ने चेतावनीसमेत दिए । कट्टेलले नेपाल कम्युनिस्ट पार्टीका गिरफ्तार नेता कार्यकर्तालाई ओली सरकारले यय्काल रिहा गर्नैपर्ने बताए । उनले नेता कार्यकर्तालाई रिहा नगरे जनताले सत्ताको ढोका फोरेर भएपनि मुक्त पार्ने चेतावनी दिए ।
यसैगरी , वैज्ञानिक समाजवाद कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले चार कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त कार्यक्रमको लक्ष्य पार्टी एकता भएको बताएका छन् । आहुतीले चार पार्टीको संयुक्त घोषणा कार्यक्रम लाई संवोधन गर्दै नेपालमा प्रतिगमन प्रचण्डको वैचारिक विचलनसंगै शुरु भएको दाबी गरे । दोस्रो संविधान सभाको प्रकिया र संविधान निर्माणको प्रक्रियासंगै प्रतिगमनले जरा समाएको आहुतीको भनाई छ । दलाल पुँजीवाद नै आजको नेपालको बलियो प्रतिगमन भएको आहुतीको दाबी छ ।
यसैगरी , राष्ट्रिय जागरण मंचका संयोजक गुणराज लोहनीले नेपालमा प्रतिगमन जनमुक्ति सेनाको विघटनसंगै शुरु भएको बताएका छन् । प्रचण्ड माधव समुहको जारी प्रतिगमन विरोधी आन्दोलनबारे बोल्दै लोहनीले अहिले गरिएको आन्दोलनको कुनै अर्थ नरहेको दाबी गरे ।नेपालमा अबको विकल्प भनेको चार कम्युनिस्ट पार्टी मात्र भएको बताउँदै लोहनीले नेपाल कम्युनिस्ट पार्टी अब सडकमा आउनु पर्ने बताए । प्रचण्ड समुहको आन्दोलनको कुनै औचित्य नभएको भन्दै उनले अब वैज्ञानिक समाजवादको बाटोमा जानु पर्ने बताए