वर्तमान राजनीतिक संकटको निकास : वैकल्पिक संयुक्त सरकार’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले असफल संसदीय व्यवस्थामै घुमाउने निकास जनअपेक्षित निकास हुन नसक्ने बताउँदै यसको अग्रगामी निकास रणनैतिक संयुक्त मोर्चाले संश्लेषण गरेको वैकल्पिक संयुक्त सरकार हुन सक्ने बताएको छ । सो पार्टीका महासचिव विप्लवले २६ औँ जनयुद्ध दिवसको अवसरमा जारी शुभकामना सन्देशमार्फत् सो कुरा बताएका हुन् । महासचिव विप्लवले सम्पूर्ण सहिद बेपत्ता परिवार, घाइते अपाङ्ग, बन्दी नेता–कार्यकर्ताहरुलाई स–सम्मान स्मरण गर्दै पार्टी पंक्ति र आमजनसमुदायलाई भव्यतापूर्वक जनयुद्ध दिवस मनाउन समेत आग्रह गर्दै समय जति बित्दै जान्छ, त्यति नै जनयुद्धको स्मरण ताजा भइरहने बताएका छन् । उनले आजको संसदीय व्यवस्थाको संकट, आमजनसमुदायले भोग्नु परेको अनेकौँ दुःख–कष्ट र परिवर्तनको आकांक्षाले जनयुद्धको औचित्य र सहिपनालाई झनै सावित गरेको बताएका छन् । उनले जनयुद्ध कुनै पार्टी विषेशको क्रान्ति मात्र नभएर आम परिवर्तनप्रेमी, अग्रगामी जनताको चाहना र आवश्यकतासँग जोडिएको विषय भएको र जनयुद्धमा भएको बलिदान र उपलब्धि पनि जनताकै भएको उल्लेख गर्दै ती उपलब्धिहरु जनतालाई पराजित र असफल पार्ने खेल अनुरुप साम्राज्यवादी, प्रतिक्रियावादी, संशोधनवादीहरुको मिलेमतोमा तहसनहस पारिएको तर आपनो पार्टी र अन्य क्रान्तिकारीहरुको सशक्त प्रतिरोधले उनीहरुको त्यो प्रयास कल्पनामै समाप्त भएको बरु दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था नै आमनागरिकले बुझ्ने गरी आफैँ असफल र संकटग्रस्त हुन पुगेको बताएका छन् ।
विप्लवले वर्तमान राजनीतिक संकट बारे धारणा राख्दै आजको संसद्वादी व्यवस्थाको असफलतालाई विभिन्न पार्टीहरुले एक अर्काको पार्टी र गुटको असफलता बताउँदै कसैले संसदको पुनस्र्थापना, कसैले चुनावको विकल्प अघि सारेर संसदीय गोलचक्करमा घुमाउन खोजेको तर असफल भइसकेको संसदीय व्यवस्थाले जनअपेक्षाअनुसार निकास दिन नसक्ने बताएका छन् र वर्तमान संकटको निकास वैकल्पिक संयुक्त सरकार हुन सक्ने विकल्प प्रस्तुत गरेकाछन् । ‘वैकल्पिक संयुक्त सरकारको नेतृत्वमा सार्वभौम शक्ति सम्पन्न जनताको जनमतद्वारा पुँजीवाद वा वैज्ञानिक समाजवादको फैसला गर्नुपर्दछ ।’ विप्लबको बिज्ञप्तिमा उल्लेख गरिएकोछ ।
वैकल्पिक संयुक्त सरकारद्वारा अग्रगामी राजनीतिक निकास दिने उद्देश्यका साथ क्रान्तिकारी र परिवर्तनकारी मित्रशक्तिहरुबीच गठन भएको रणनीतिक संयुक्त मोर्चा ऐतिहासिक महत्वको रहेको र दशकौंदेखिको जनताको आकांक्षालाई प्रतिनिधित्व र नेतृत्व दिन सक्षम रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ— ‘२६ औँ जनयुद्ध दिवस मनाउँदै गर्दा हामी इमानदारी एवं जिम्मेवारीका साथ सबै मित्रहरुलाई यही राजनैतिक विकल्पका पक्षमा गोलबद्ध भएर महान् जनयुद्ध एवं जनआन्दोलनहरुका सुन्दर सपनाहरु साकार पार्न अगाडि बढ्न विशेष अपिल गर्न गर्दछौं ।’
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ– “हामी एकीकृत जनक्रान्ति संचालन गर्दै यो बर्ष महान् जनयुद्धको २६औँ दिवस मनाउँदै छौँ । दर्जन बढी कमरेडहरुको सहादत, कमरेडहरु सुदर्शन, कञ्चन, वीरजङ्ग, रणवीर, माइला, निर्माण, आदर्श, जोखिम, विवेकसहित सयौँ नेता– कार्यकर्ताको जेल जीवनसहित यो दिवस मनाउँदैछौँ । यो सुखद एवम् चुनौतिपूर्ण अवसरमा हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी महान् जनक्रान्ति, जनयुद्ध एवम् सम्पूर्ण मुक्ति संघर्षका महान् सहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते, पार्टी पंक्ति र आमजनसमुदायलाई शुभकामना व्यक्त गर्दै सबैसँग भव्यतापूर्वक जनयुद्ध दिवस मनाउन अपिल गर्दछ । साथै वैज्ञानिक समाजवादको सुन्दर सपना साकार पारी छोड्ने दृढ संकल्प व्यक्त गर्दछ । समय जति बित्दै जान्छ, जनयुद्धको स्मरण त्यतिनै ताजा बनेर आउँछ । आजको संसदीय व्यवस्थाको असफलता, संकट र जनताले भोग्नु परेका अनेकौँ दुःख–कष्ट साथै जनताले राखेका परिवर्तनको आकांक्षाबाट नियाल्दा जनयुद्धको औचित्य र सहिपना झन् सही सावित हुँदै गएको महसुस हुन्छ ।
वास्तवमा जनयुद्ध कुनै पार्टी विशेषको क्रान्ति मात्र नभएर आमपरिवर्तनप्रेमी, अग्रगामी जनताको चाहना र आवश्यकतासँग जोडिएको विषय थियो । जनयुद्धमा गरिएको बलिदान, प्राप्त सफलता र उपलब्धिहरु पनि नेपाली जनताकै थिए । अपसोच ती सफलता र उपलब्धिहरुलाई जसरी सारा प्रतिक्रियावादी, साम्राज्यवादी, संशोधनवादीहरुको मिलेमतोमा तहसनहस पारियो, सारमा त्यो जनतालाई असफल र पराजित गर्ने खेल नै थियो । परन्तु हाम्रो पार्टीलगायत क्रान्तिकारीहरुको सशक्त प्रतिरोधका कारण त्यो कल्पनामै समाप्त हुन पुग्यो बरु उल्टै दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था आमनागरिकले बुझ्ने गरी आफैँ असफल र संकटग्रस्त हुन पुग्यो ।आज संसदवादी पार्टीहरुले दलाल पुँजीवादी सत्ता संकटलाई एक अर्को पार्टी र गुटको असफलतामा लगेर जनतालाई संसदीय व्यवस्थाको गोलचक्करभित्र घुमाउन खोजिरहेका छन् । उनीहरुले संकटको निकासबारे प्रचण्ड–माधवले संसद् पुनस्र्थापना, केपी ओलीले चुनाव र काँग्रेस, जसपाले जे भए पनि हुन्छ भन्ने गरेका छन् जो एकदमै भ्रामक छ । हाम्रो दृष्टिकोणमा असफल संसदीय व्यवस्थाबाट असफल संसदीय व्यवस्थामै घुमाउने निकास जनअपेक्षित निकास हुन सक्दैन । यसको अग्रगामी निकास रणनैतिक संयुक्त मोर्चाले संश्लेषण गरेको वैकल्पिक संयुक्त सरकार हुन सक्छ । जसले सार्वभौम शक्ति सम्पन्न जनताको जनमतद्वारा वैज्ञानिक समाजवाद या पुँजीवादको फैसला गर्नेमा नेतृत्व दिन सक्नेछ । वैकल्पिक संयुक्त सरकारद्वारा अग्रगामी राजनैतिक निकास दिने उद्देश्यका साथ आज जुन क्रान्तिकारी एवम् परिवर्तनकारी मित्र शक्तिहरुका बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण भएको छ यो ऐतिहासिक महत्वको त छ नै साथै दशकौंदेखिको परिवर्तनकारी जनआकाँक्षालाई प्रतिनिधित्व गर्ने र नेतृत्व दिन सक्षम पनि छ । २६औँ जनयुद्ध दिवस मनाउँदै गर्दा हामी इमानदारी एवम् जिम्मेवारीका साथ सबै मित्रहरुलाई यही राजनैतिक विकल्पका पक्षमा गोलबद्ध भएर महान् जनयुद्ध एवम् जनआन्दोलनहरुका सुन्दर सपनाहरु साकार पार्न अगाडि बढ्न विशेष अपिल गर्न गर्दछौँ ।’ – क्षेप्यास्त्र साप्ताहिक