भागरथी घटनाको अनुसन्धानमा खटिएका प्रहरीको बढुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरीलाई एक तह बढुवा गरेको छ । बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापाले महत्वपूर्र्ण भूमिका निर्वाह गरेको भन्दै उनीहरुको एक तह बढुवा गरेको हो। बढुवा भएका थापाद्वयलाई बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन्। यसैगरी भागरथी घटनाको अनुसन्धानमा संलग्न अन्य पाँच जना प्रहरीहरूलाई पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुनेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरबन्दी भएका प्रहरी नायब निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दी रहेका प्रहरी जवान अशोक बहादुर कुँवर रहेका छन्।
बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको जबरजस्ती करणीपछि हत्या भएको १३ दिनमा घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो। गत माघ २१ गते भागरथीको जबरजस्ती करणीपछि हत्या गरिएको थियो ।