डेनमार्क नर्वे लगायतका देशमा अक्सफोर्डको खोपको प्रयोग स्थगित

काठमाडौं । डेनमार्क तथा नर्वे लगायतका देशहरूले खोपको प्रयोग स्थगित गरेपछि युरोपेली युनियनको औषधि नियामक निकाय ‘इएमए’ले अक्सफोर्ड–एस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै संकेत नभेटिएको जनाएको छ । डेनमार्क र नर्वेमा थोरै संख्याका मानिसहरूले खोप लगाएपछि रगत जमेको विवरण सार्वजनिक भएपछि खोप कार्यक्रम स्थगित गरिएको थियो ।
एस्टाजेनेकाले पचास लाख युरोपेलीहरूलाई खोप दिँदा ३० जनामा मात्र त्यस्तो समस्या देखिएको भन्दै त्यो खोपबाट सृजित समस्या नभएको जनाएको छ । खोपको सुरक्षाबारे क्लिनिकल परीक्षणका बेला सघन अध्ययन भएको उसको दाबी छ । युरोपमा हालसम्म १ करोड १० लाख मात्रा अक्सफोर्ड–एस्ट्राजेनेका खोप दिइसकिएको छ ।