नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

२०७७ चैत्र १३ गते, शुक्रबार


काठमाडाैं । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोट र नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशबहादुर बस्नेतले नक्कली नोट बोकेका व्यक्ति कलङ्की तरकारी बजारमा तरकारी किन्न आएको सुराकीका आधारमा बुधबार राति पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका व्यक्तिले कीर्तिपुरको एक घरमा प्रिन्टर मेसिनसमेत राखेर नक्कली पैसा छाप्ने गरेको अनुसन्धानमा खुलेको छ । उनीहरूबाट प्रहरीले एक हजार दरको ५१ थान, ५०० दरको ५७ थान, १०० दरको दुई थान, प्रिन्टर एक थान, फोटोकपी पेपर, पेपर कटर एक थान, ल्यापटप एक थान, मोबाइल एक थान बरामद गरेको छ । पक्राउ परेका दुवैसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]