अखिल क्रान्तिकारी बर्दियाद्वारा विद्यार्थी सभा समपन्न

२०७७ चैत्र १४ गते, शनिबार


काठमाडौं । अखिल (क्रान्तिकारी) बर्दियाको आयोजनामा सांस्कृतिक कार्यक्रम सहित विद्यार्थी सभा सम्पन्न भएको छ । बर्दियाको मधुवन नगरपालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सांस्कृतिक कार्यक्रम तथा विद्यार्थी सभा सम्पन्न भएको हो । उक्त सभालाई नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला इन्चार्ज विकासले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै इन्चार्ज विकासले देशमा कस्तो शासन व्यवस्था रहने भन्ने निर्णय गर्ने अधिकार जनतालाई दिनुपर्ने बताए । उनले आफ्नो पार्टी राष्ट्रिय स्वाधिनताको रक्षा र जनअधिकारका लागि संघर्षमा रहेको बताउँदै जनताको अधिकार स्थापित गर्न वैज्ञानिक समाजवाद आवश्यक रहेको बताए । पार्टीले एनसेलले कर तिर्नुपर्छ भन्दा, भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्दा सरकारले प्रतिबन्ध लगाएको भन्दै सरकार प्रतिबन्ध हटाउन तयार भए पछि आफ्नो पार्टी वार्तामा आएको उनको भनाइ थियो । आफुहरू तीन बुँदे सहमतिलाई इमानदारी पूर्वक कार्यान्वयन गरिरहेको भए पनि सरकारले बिलम्ब गरिरहेको उनको भनाई थियो ।
विद्यार्थी सभालाई सम्बोधन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा भेरी कर्णाली व्युरो संयोजक हर्कबहादुर बिकले नेपालको शिक्षा पद्धति बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै भएको भन्दै शिक्षा क्षेत्रको आमूल परिवर्तन आवश्यक भएको बताए । उनले शैक्षिक क्षेत्र पनि निजिकरण, व्यापारिकरण हुँदै दलाल र माफियाको हातमा पुगेको भन्दै निजिकरणको अन्त्य हुनुपर्ने बताए ।
सभामा अखिल नेपाल महिला संघ क्रान्तिकारी भेरी कर्णाली व्युरो संयोजक शान्ति बिक, भेक जनसांस्कृतिक परिवारका टोली प्रमुख लगायतका अतिथिहरू रहेका थिए भने अखिल क्रान्तिकारी बर्दिया इन्चार्ज लोकेश जोशीको अध्यक्षतामा भएको थियो ।
नेकपा बर्दियाले यसअघि पनि बढैयाताल गाउँपलिका ४ खैरेनी र ठाकुरबाबा नगरपालिकाको भुरिगाँउमा सांस्कृतिक कार्यक्रम सहित जनसभा सम्पन्न गरेको बर्दिया जिल्ला इन्चार्ज विकासले जानकारी दिए ।

यता , अखिल (क्रान्तिकारी) अर्घाखाँचीले जिल्ला सम्मेलन नजिकिएसँगै संगठन विस्तारलाई तिब्रता दिएको छ । डिहिडाँडामा रहेको चन्द्रप्रभा माबिमा शुक्रबार कक्षा ११ र १२ मा सुदिप नेपालीको अध्यक्षतामा २५ सदस्यीय र कक्षा ९ र १० मा सुन्दर भाटको अध्यक्षतामा २७ सदस्यीय मुल इकाई कमिटी गठन गरिएको हो । कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष नविन खड्काले आफ्नो संगठनले लिएको एकीकृत जनक्रान्तिको अभियान मार्फत शैक्षिक नीति सम्भव भएको यस अभियानमा विद्यार्थीहरु सहभागी भएर इतिहासले दिएको युगिन जिम्मेवारी पूरा गर्नुपर्ने बेला आएकोले यसतर्फ लाग्न सबैलाई आह्वान् गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन जिल्ला सदस्य पदम नेपाली र सुनिल नेपालीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु