गोर्खाल्याण्ड माग्दै दिल्ली

२०७० मंसिर २४ गते, सोमबार


काठमाडौ,२४ मंसिर – दार्जिलिङका सयौं बासिन्दा आज ‘गोर्खाल्याण्ड’ राज्यको लागि दबाव दिन भारतीय राजधानी नयाँ दिल्लीतर्फ जाँदैछन् ।पश्चिम बंगालबाट छुट्टिन संघर्षरत गोर्खा जनमुक्ति मोर्चाले धर्ना र जुलुसमा सहभागी गराउन दार्जिलिङ क्षेत्रबाट ठूलो संख्यामा गोर्खाल्याण्ड समर्थकहरु नयाँ दिल्ली लैजान लागेको हो ।मोर्चाका महासचिव रोशन गिरीको नेतृत्वमा दार्जिलिङबाट आइतवार एक हजार तीन सय हाराहारी मानिस दिल्ली प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार दार्जिलिङ महकुमा समिति अध्यक्ष दावा लामाको नेतृत्वमा सयौं गोर्खाल्याण्ड समर्थकको अर्को टोली दिल्ली प्रस्थान गर्दैछ ।
गोर्खाल्याण्ड मुद्दालाई निर्णायक पार्न दिल्लीमा तीन दिनसम्म धर्ना र जुलुस गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार दार्जिलिङबाट समर्थकहरु ओसारिएको मोर्चाले जनाएको छ । यसमा दिल्लीस्थित मोर्चाको शाखा र पूर्वोत्तर राज्यका नेपालीभाषी पनि सहभागी भएर ऐक्यवद्धता जनाउने छन् ।
गोर्खाल्याण्ड आन्दोलन ब्युँतिएको सात बर्षमा थुप्रैपल्ट त्रिपक्षीय वार्ता भइसक्दा पनि पश्चिम बंगाल राज्य र केन्द्र सरकार लचिलो नभएपछि दिल्लीमा दबाब दिन लागिएको मोर्चा महासचिव गिरीले बताएका छन् ।
दिल्लीमा जन्तर–मन्तर चोक र राजघाटमा धर्ना र जुलुस प्रदर्शन गर्ने मोर्चाको कार्यक्रम छ । जसअनुसार, डिसेम्बर १३, १४ र १५ तारिखमा गोर्खाल्याण्ड राज्य माग गरिएका प्लेकार्ड र ब्यानर बोकी नारा घन्काउँदै हजारौं नेपालीभाषी दिल्लीमा भेला हुनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु