पार्किङ नभए भवनमा डोजर

२०७० मंसिर २४ गते, सोमबार


काठमाडौं, २४ मंसिर – काठमाडौं महानगरपालिकाले पार्किङ व्यवस्था नगर्ने व्यावसायिक भवनलाई डोजर लगाई भत्काउने तयारी गरेको छ । महानगरले आइतबार सूचना जारी गरी पार्किङसहित नक्सापास गरेका विभिन्न संघसंस्था लगायतका घरधनीले त्यस्तो व्यवस्था गरेको नपाएमा भत्काउने जनाएको हो ।
महानगरका कार्यकारी प्रमुख लक्ष्मण अर्यालले महानगरमा सुशासन कायम गन पार्किङ नगरेकालाई कारबाही गर्न लागिएको बताए । ‘सुविधा लिने अनि महानगरलाई झुक्याउन पाइँदैन,’ उनले भने । नक्सापास भएका भवनको अनुगमन कार्य भइरहेको जानकारी दिंदै उनले त्यस्ता भवन र संघसंस्था पाइएमा कारबाही गरिने बताए । ‘महानगरको डोजर लगाएर पार्किङ बनाउँछौं, त्यसमा कसैको दबाब मान्दैनौं,’ उनले भने ।
सहरका मुख्य भागमा बनाइएका व्यावसायिक भवनले पार्किङ सुविधा लिएर पनि त्यसअनुसार व्यवस्था गरेका छैनन् । घरजग्गा कर छल्नेलाईसमेत कालोसूचीमा राख्ने तयारी भइरहेको कार्यकारी प्रमुख अर्यालले बताए । ‘कर छल्ने, झुक्याउनेलाई हामी छुट दिनेवाला छैनौं,’ उनले भने । न्युरोड, दरबारमार्ग, खिचापोखरी, नयाँबानेश्वर, पुरानो बानेश्वर, पुतलीसडक, चावहिल लगायतका क्षेत्रका व्यावसायिक भवनले पार्किङसहितको नक्सापासको स्वीकृत लिएका छन् ।
प्रमुख अर्यालले १५ दिनभित्र पनि पार्किङ व्यवस्था नगरे डोजर लगाई भत्काइने बताए । ‘सार्वजनिक सूचना जारी गरेका छौं, नमान्नेलाई त्यसैअनुसार कारबाही हुन्छ,’ उनले भने । महानगरभित्रको ट्राफिक जाम कम गर्न पनि व्यावसायिक भवनभित्रको पार्किङ व्यवस्थालाई कडाइसाथ लागू गरिने उनले बताए ।
सहरभित्र करिब ५० वटा ठूला व्यावसायिक भवन छन् । सबै व्यावसायिक भवनले पार्किङका लागि नक्सापास गरेका छन् । अधिकांशले दुई तला पार्किङ व्यवस्था गर्ने गरी नक्सापास सम्झौता गरेका छन् । तर, अधिकांशले एक तलामात्र पार्किङ व्यवस्था गरेका छन् । भुइँतलाबाहेक अन्यमा पार्किङ व्यवस्था गरेका छैनन् ।
महानगर सहरी विभाग स्रोतका अनुसार काठमाडौं मल, सिभिल मल र सिटी सेन्टरले पनि दुई तलामा पार्किङ गर्ने सम्झौता गरेका छन् । ती व्यावसायिक भवनमध्ये केहीले मात्र उक्त सम्झौता पालना गरेको पाइएको छ । गत साउनदेखि १० हजार वर्ग फिटभन्दा माथिका सबै भवनले अनिवार्य रूपमा पार्किङ व्यवस्था गर्नुपर्ने महानगरले नियम बनाएको छ । ‘पार्किङका लागि नक्सापास गरेका छन् तर, लागू गर्दैनन्,त्यस्ताको तथ्यांक संकलन गर्दैछौं,’ सहरी विकास विभाग स्रोतले भन्यो ।
कार्यकारी प्रमुख अर्यालले सहरका केही स्थानमा पार्किङ व्यवस्था गर्न लागिएकोसमेत जानकारी दिए । रानीपोखरी, बानेश्वर लगायतका प्रमुख स्थानमा पार्किङ व्यवस्था गर्न विकल्प खोजिन लागेको उनले बताए । केही दिनअघि महानगरले निःशुल्क पार्किङ व्यवस्था गरेको छ । पार्किङमा अनियमितता बढेको उल्लेख गर्दै उसले यस्तो व्यवस्था गरेको हो । महानगरका कर्मचारी संलग्नतामा डनहरूको बाहुल्यता पार्किङमा बढै गएको पाइएको छ । महानगरभित्रका कर्मचारीसमेतले पार्किङ सञ्चालनमा संलग्नतासमेत भेटिएको छ । त्यही कारण, छ महिनाअघि टेन्डर लागि आह्वान गरिएको पार्किङ पनि रोकिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु