६५औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइदै
काठमाडौं,२५ मंसिर ।आज ६५औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस , नेपालमा मानवअधिकारका लागि संगसंगै नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदैछ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सरकारका तर्फबाट कुनै पनि औपचारिक कार्यक्रम आयोजना गरिएका छैनन् ।
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्शन मण्डेलाप्रति शोक व्यक्त गर्न तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय अनुसार २३ गतेदेखि मंगलबारसम्मका लागि तय भएका सबै कार्यक्रम स्थगित भएका छन् । तर गैरसरकारी संघसंस्थाले भने विभिन्न कार्यक्रम गर्दैछन् ।
संयुक्त राष्ट्रसंघ महासभाले मानवअधिकार सम्बन्धि विश्वव्यापी घोषणापत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाईंदै आएको छ । दिवसका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले विश्वभर बढ्दो मानवअधिकार हननका घटना रोक्नका लागि त्यसप्रतिको प्रतिक्रियालाई बलियो बनाउनुपर्ने र मानवअधिकार उल्लंघनको सामना गर्नका लागि सतर्कता र साहस अभिवृद्धिका लागि प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिनुभएको छ ।नेपालका सन्दर्भमा द्वन्द्वका बेला भएका मानवअधिकार हननका पीडितले अझै न्याय पाउन नसक्नु, अपराधीलाई राजनीतिक संरक्षण, बढ्दो दण्डहीनता मानवअधिकार संरक्षणका मुख्य चुनौती बनेका अधिकारकर्मीले बताएका छन् ।सबै नागरिकले मानवअधिकारको पूर्ण उपयोग गर्न पाउने स्थिती निर्माणका लागि राज्य र गैरराज्य पक्ष संवेदनशील हुनुपर्ने र नयाँ बन्ने संविधान मानवअधिकार मैत्री हुनुपर्नेमा उनीहरुको जोड छ ।