‘बुधु सदाका हत्यारालाई कारबाही गर’

काठमाडौँ । दलित मुक्ति मोर्चाले बुधु सदाका हत्यारालाई कडा कारबाही गर्न माग गरेको छ। मोर्चाका जनकपुरका क्षेत्रीय संयोजक राजु विश्वकर्माले विज्ञप्ति जारी गरी सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरका ४५ वर्षीय दलित मजदुर बुधु सदालाई वैशाख ९ गते छिन्नमस्ता गाउँपालिका ७ का रमेश यादवले भारतको प्लाइउड कम्पनीमा काम गर्न लगेको र वैशाख १४ गते पाँच दिनपछि खाना खाने विषयमा विवाद हुँदा बुधुलाई रमेश यादवलगायत ४ जनाको समूहले निर्घात कुटपिट गरी हत्या गरेकाले घटनामा संलग्न व्यक्तिहरुलाई कडाभन्दा कडा सजाय दिन माग गरेका हुन् ।
क्षेत्रीय संयोजक राजु विश्वकर्माद्वारा विज्ञप्तिमा भनिएको छ – ‘अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन सप्तरीका बुधु सदाले मालिकसँग पेटभरि खाना माग्दा ज्यान गुमाउनुपरेको छ । सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरका ४५ वर्षीय दलित मजदुर बुधु सदालाई वैशाख ९ गते छिन्नमस्ता गाउँपालिका ७ घर भएका ठेकेदार रमेश यादवले भारतको प्लाइउड कम्पनीमा काम गर्न लगेका थिए । वैशाख १४ गते पाँच दिनपछि खाना खाने विषयमा विवाद हुँदा बुधुलाई रमेश यादवलगायत ४ जनाको समूहले निर्घात कुटपिट गरी हत्या गरेको घटनालाई लिएर हाम्रो सङ्गठन दलित मुक्ति मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
क्षेत्रीय संयोजक राजु विश्वकर्माद्वारा विज्ञप्तिमा अगाडि भनिएको छ- ‘सो घटनामा संलग्न अपराधीहरुलाई कानुनअनुसार कारबाही गर्न सरोकारवाला निकायसँग जोडदार माग गर्दछौँ । ती अपराधीलाई कारबाही भएन भने दलित मुक्ति मोर्चा कडा सङ्घर्षमा उत्रिने चेतावनी दिन चाहन्छ ।’
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि तराईका सदायहरुलाई दासयुगमा जस्तै पशुसरह व्यवहार हुनु एकदमै भत्र्सना गर्न लायक रहेको जनाउँदै विज्ञप्तिमा पीडित पक्षलाई क्षतिपूर्ति दिन पनि माग गरिएको छ ।