आज अन्तर्राष्ट्रिय नर्स दिवस

काठमाडौँ । आज मे १२ अर्थात अन्तर्राष्ट्रिय नर्स दिवस । ‘नर्स : नेतृत्वका लागि एक आवाज, स्वास्थ्य सेवाको भविष्यका लागि एक दर्शन’ भन्ने नाराका साथ मनाइँदै छ । कोरोना जोखिमको कारण औपचारिक कार्यक्रम आयोजना गरिएको छैन। विश्वभरका नर्सहरुले स्वाथ्य सेवामा पुर्याएको योगदानको कदर र सम्मान स्वरुप आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङगेलको जन्म दिवसको अवसरमा नर्सिङ दिवस मनाइन्छ।
अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा नर्स दिवस मनाउन थालिएको हो। कोरोनाको यो महामारीमा नर्सलाई बिरामीको सहयोग गर्ने एक स्वास्थ्यकर्मीको रुपमा चिनिन्छ । कोरोनाको विश्वव्यापी महामारीको यो बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको छ । शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेसालाई सम्मानित पेसाका रुपमा लिने गरिएको छ ।आधुनिक नर्सिङ पेसाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर नर्स दिवस मनाउने गरिन्छ ।
‘लेडी विद् दि ल्याम्प’को उपनामले परिचित नाइटिङ्गेल सन् १८२० मा बेलायतमा जन्मिनुभएको थियो । नाइटिङ्गेलले सन् १८६० मा लण्डनको सेन्ट थोमस अस्पतालसँगै नर्सिंङ कलेज सञ्चालन गर्नुभएको थियो, जुन नर्सिङ क्षेत्रमा आधुनिक र व्यावसायिक नर्सिङ सेवाको रुपमा मानिन्छ ।