निशुल्क पार्किङको योजना रोकियो
काठमाडौ, १ पुस – काठमाडौमा गर्न लागिएको निःशुल्क पार्किङको व्यवस्था पुनरावेदन अदालत पाटनको कारण तत्कालका लागि स्थगित भएको छ ।पार्किङबाट शुल्क उठाउँदै आएका क्लब, संघसंस्थाले दायर गरेको रिटमा पुनरावेदन अदालत पाटनले अर्को निर्णय नभएसम्म निःशुल्क पार्किङको व्यवस्था नगर्न आदेश दिएपछि स्थगित भएको हो ।
अदालतले स्पष्टीकरणका लागि महानगरपालिकालाई पुस ८ गते बोलाएको छ । अदालतको आदेशमा पुस ८ गतेसम्मका लागि निशुल्क पार्किङको निर्णय स्थगित गरेको महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले बताए ।
काठमाडौ महानगरपालिकाले नगर क्षेत्र भित्रका विभिन्न ठाउँका सशुल्क पार्किङस्थलमा सोमबारदेखि निःशुल्क पार्किङको व्यवस्था गर्ने निर्णय गरेको थियो । सशुल्क पार्किङ गर्ने व्यवस्था असार मसान्तमा नै सकिएको भन्दै महानगरपालिकाले निःशुल्क पार्किङको व्यवस्था गर्न लागेको हो ।
यस्तै महानगरपालिकाले काठमाडौलाई सफा र सुन्दर शहर बनाउन तयारी तीब्र पारेको छ । त्यसका लागि सरसफाई कार्यक्रमलाई निरन्तरता दिनुका साथै मुख्य मुख्य ठाउँमा पार्क बनाउने तयारी भएको छ ।
जमल, सिनामंगल र अनामनगर क्षेत्रमा पार्क बनाउन बोर्ड बैठकले पारित गरिसकेको र अब छिट्टै निर्माण व्यवसायीसंग सम्झौता गरिने महानगरपालिकाका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।उनका अनुसार आउँदो हप्तादेखि यी ३ क्षेत्रमा पार्क बनाउन थालिनेछ । त्यसपछि माइतीघर मण्डला र तीनकुनेमा पनि पार्क बनाउने पक्रिया अघि बढ्ने श्रेष्ठले जानकारी दिए ।