बहुमतीय सरकार गठनको सम्भावना टर्दै : ओली पुनः प्रधानमन्त्री बन्ने निश्चित

२०७८ बैशाख ३० गते, बिहीबार

काठमाडौं । बहुमतीय सरकार गठनको सम्भावना टरेको छ । गतसोमबार प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा विश्वासको मत जित्न असफल भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज राति ९ बजे सकिँदै छ ।
आज अपरान्ह प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तापछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै बरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। माधव नेपालले भने, ‘राजीनामा दुई चार दिनलाई टर्‍यो।’ चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा अध्यक्ष ओलीसँग झन्डै ४ घन्टा वार्ता गरेपछि उनले तत्कालाई राजीनामाको स्थिति टरेको बताएका हुन्। वार्ता र संवाद जारी रहेको भन्दै नेता नेपालले मिल्ने दिशामा अगाडि बढेकाले राजीनामा दिने कुरा तत्काललाई टरेको जानकारी दिएका हुन्।
यता , जसपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले आज विहान देउवालाई भेटेर नयाँ सरकार गठनमा साथ नदिने बताइसकेका छन् । योसगै बहुमतको सरकार गठनको सम्भावना लगभग सकिएको छ ।’
यी घटनाक्रम संगै बहुमतीय सरकार गठनको सम्भावना टरेको छ । आज बेलुकी ९ बजेसम्म विपक्षी दलले बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्रीको नाम पेस गर्न नसकेपछि संसदमा रहेको सबैभन्दा धेरै सांसद भएको दलको नेतालाई संविधानको धारा ७६(३) को व्यवस्था अनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने छिन । संसदमा अहिले कामचलाउ प्रधानमन्त्री ओली दलको नेता रहेका नेकपा एमाले नै ठूलो दल छ । विपक्षी दलहरूले बहुमत पुर्याउन नसके ठूलो दलकाे हैसियतमा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता ओली नै पुनः प्रधानमन्त्री नियुक्त हुनेछन् ।

प्रतिक्रियाहरु

[anycomment]