अखिल (क्रान्तिकारी) द्वारा राष्ट्र र जनताको पक्षमा संघर्ष गर्न आह्वान

२०७८ जेष्ठ १ गते, शनिबार

काठमाडौँ । अखिल (क्रान्तिकारी) ले फेरि पनि नेपालका आम युवा विद्यार्थीहरु एकताबद्ध भई राष्ट्र र जनताको पक्षमा समर्पित भई संघर्ष गर्नुपर्ने अवस्था सृजना भएको बताएको छ । सो सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले ५७ औं विद्यार्थी दिवसको अबसरमा शनिबार शुभकामना संदेश दिदै सो कुरा बताएका हुन् ।
यस बिषयमा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “आज जेठ १ गते विद्यार्थी दिवस । विसं २०२१ साल जेठ १ गते तत्कालीन पञ्चायती फाँसीवादी निरंकुश सत्तासँग गोर्खा भर्ती केन्द्रको खारेजी, राष्ट्रघाती सन्धि सम्झौताको खारेजी, स्ववियुको स्थापना गर्न पाउनुपर्ने र गिरप्तार विद्यार्थीहरुको रिहाईको माग राखी आन्दोलन संचालन गरि विद्यार्थी आन्दोलनले बिजय प्राप्त गरेको दिन हो । फाँसीवादी पञ्चायती शासनकालमा स्वबयु खोल्न पाउने अधिकार प्राप्त गर्नु सामान्य विषय थिएन । तसर्थ जेठ १ गते नेपालका लाखौ युवा विद्यार्थीहरूको गौरवपूर्ण दिन हो । यस अवसरमा लाखौँ युवा विद्यार्थी, अभिभावक, शिक्षक लगायत सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ । साथै विद्यार्थी आन्दोलनको तर्फबाट बिभिन्न आन्दोलनहरुमा सहादत पाप्त गर्नुहुने गंगालाल श्रेष्ठ, चिनियाँकाजी श्रेष्ठ, दिलबहादुर रम्तेल, वेनोज अधिकारी, प्रज्वल शाही लगायतका हजारौ सम्पूर्ण महान शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । नेपालमा विद्यार्थी आन्दोलनले राणाशासन र पञ्चायती शासन विरुद्ध राजनीतिक आन्दोलनकोसमेत नेतृत्व गरेको थियो । महान जनयुद्ध देखि दोस्रो जनआन्दोलन हुदैँ आज पर्यन्त विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका निर्वाह गरि रहेको छ ।
बिगतमा राजनीतिक र शैक्षिक आन्दोलनको नेतृत्व गरेको नेपालको विद्यार्थी आन्दोलनलाई अझै सशक्त, सिर्जनशिल र स्वगतिमा सञ्चालन गर्नुपर्ने आवश्यकता टट्कारो भएको छ। आज देशमा कथित लोकतन्त्रको नाममा शासकहरूले निहत्था जनतामाथि दृश्य/अदृश्य रुपमा लुटखसोस, स्वच्छाचारिता लादेर जनताको हुर्मत लिने काम गरिरहेका छन । राष्ट्र र जनताको हितभन्दा आफ्नो सत्ता स्वार्थमा संसदवादीहरु पतन हुन पुगेका छन्‌ । राष्ट्रिय स्वाधिनता र जनअधिकारको प्रश्न आज सर्वाधिक महत्वको विषय बनेको छ । राजनैतिक क्षेत्रमा दलाल र संसदवादको उत्पिडन छ भने शैक्षिक क्षेत्रमा निजीकरण, व्यापारीकरण र माफियाकरणले बिकृतिको पहाड खडा गरेको छ । आज कोभिड १९ को कारण राष्ट्र र जनताले चरम दुख, कष्ट खपि रहनुपरेको छ । जनता बेसहारा हुन पुगेका छन्‌ । यस्तो अवस्थामा फेरि पनि नेपालका आम युवा विद्यार्थीहरु एकताबद्ध भई राष्ट्र र जनताको पक्षमा समर्पित भई संघर्ष गर्नुपर्ने अवस्था सृजना भएको छ । आउनुहोस्‌ एकपटक फेरि जेठ १ गतेको गौरवपूर्ण दिनमा संकल्प गरौं कि हामी हाम्रो देश र जनताको वैज्ञानिक समाजवाद र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको दिशामा निशर्त अगाडि बढ्नेछौं । हार्दिक शुभकामना !!”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु