कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक संसद भवनको ल्होत्से हलमा आज दिउँसो साढे २ बजे बस्ने बताइएको छ। बैठकमा संसदको बजेट अधिवेशन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ। दलहरूको राजनीतिक खिचातानीका कारण बजेट अन्योलमा परिरहेका बेला कांग्रेस सांसद छलफलमा जुट्न लागेका हुन् । जसपाले सरकारलाई समर्थन नदिने निर्णय गरेपछि सहमति नभए अध्यादेश मार्फत बजेट ल्याउने सरकारको तयारी छ।
आगामी जेठ १५ गते बजेट सार्वजनिक गर्नै पर्ने संवैधानिक व्यवस्था भएका कारण विकल्पमा सरकारले अध्यादेशमार्फत बजेट ल्याउन खोजिरहेको बेला कांग्रेस सांसदले यसबारे आधिकारीक धारणा बनाउन लागेको सचेतक पुष्पा भुषालले जानकारी दिइन्। उनका अनुसार कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण लगायत समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुनेछ।