कोरोना खोप लगाउनेलाई एक मिलियन डलरको चिठ्ठा !

काठमाडौं । अमेरिकाको ओहायो राज्यले कोरोना खोपप्रति नागरिकले चरम अनिच्छा देखिएपछि अनौठो स्किम निकालेको छ । सो स्किमअनुसार कोरोना खोपको पहिलो डोज लगाउनेमध्ये ५ जना भाग्यशाली मानिसले एक–एक मिलियन डलर (झण्डै १०–१० करोड नेपाली रुपैयाँ) पुरस्कार जित्नेछन् । सरकारको यो घोषणाले खोप अभियानमा केही सकारात्मक प्रभाव पार्न सुरु गरिसकेको छ । स्किम घोषणाको दुई दिनपछि गत सोमबार एकै दिन २५ हजार ४ सय जनाले खोप लगाए, जुन गत तीन साताको सबैभन्दा उच्च हो ।
मे १२ तारिखमा घोषणा गरिएको यो स्किमअनुसार १८ वर्षभन्दा माथिका ओहायोका नागरिकहरु जसले एक वा एकभन्दा बढी डोज खोप लगाएका छन, उनीहरु यो चिठ्ठा अभियानमा सहभागी हुन सक्ने एनबीसी न्यूज समाचार संस्थाले जनाएको छ ।
अमेरिकामा पहिलो डोज खोप लिएका झण्डै ५० लाख मानिस दोस्रो खोप लगाउनै आएनन् । हङकङमा निःशुल्क खोप सुरु भएको तीन महिना बित्दा जम्मा १८ प्रतिशतले पहिलो डोज लगाएका छन् भने १२ प्रतिशत हाराहारीले मात्र दुवै डोज लगाएका छन् ।