आज योमह्र्री पुन्ही’
काठमाडौं, २ पुस । आज मार्गशुक्ल पूणिर्मा अर्थात धान्यपूर्णिमा पर्व मुलुकभर मनाइँदैछ । नेवार समुदायमा यसलाई योमह्र्री पुन्ही’ नामले मनाइने गरिन्छ । नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमी पुन्ही भनिन्छ । नेवार समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरी अर्थात सबैलाई मनपर्ने रोटी । यस दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर योमरी पुन्ही मनाउने चलन छ ।
किसानहरूले धान भित्र्याएर भकारी भरिसक्ने समय भएकाले सधैं धनधान्यले पूर्ण होस् र कहिल्यै अन्नको दुःख नहोस् भन्ने कामना गर्दै उक्त चाड मनाइने गरेको बुढापाकाहरूको भनाइ छ । त्यसैले यसलाई धान्यपूणिर्मा भनिएको हो ।
गाउँघरमा गाईबस्तुको रक्षाका लागि गोठमा गैडु देवताको पूजा गर्ने चलन छ । पहाडी भेकका बासिन्दाले भने चलनअनुसार यसै दिनदेखि जाडो सुरु हुने भएकाले भेडा, गाईलगायतको गोठ बेंसीतिर झार्छन् र त्यहींका देवताको पूजा गरी मनाउँछन् । त्यसैले यस पर्वलाई उँधौली पनि भनिन्छ ।
नेवार परिवारमा गृहिणीहरू बिहान सबेरै उठेर चामलको पीठोलाई तातो पानीमा मुछेर डल्ला बनाउँछन् । त्यसलाई बायाँ हत्केलामा राखी दाहिने हातको चोर औंला तेलपानीमा चोबेर विस्तारै थिच्दै भित्र खोक्रो पार्छन् । त्यसमा तिल मिसाई पकाएको चाकुको झोल वा ५ गेडा चामल राखिन्छ ।
त्यसपछि मुख बन्द गरी शंखाकार वा स्तूपाकार बनाएर माथि २ वटा टुप्पो बनाइन्छ । तलको टुप्पोलाई चुच्चो बनाएर मिलाई ‘योमह्री’ नामको रौटी बनाउँछन् । केटाकेटीदेखि बूढाबूढीसम्मले मन पराउने भएकाले यसको नाम योमह्री’ रहेको बुढापाकाको भनाइ छ ।
योमह्रीका साथै ल्होंचा मह्री पनि पकाउने गरिन्छ । ल्होंचामह्री चामलको पीठोबाट पातको आकारमा बफ्याइन्छ । चामलको पीठोबाट कुवेर, लक्ष्मी, गणेश, कुमार आदिको मूर्ति बनाएर बाफले पकाइन्छ । यसरी पकाएका योमह्री र मूर्तिहरू पाथीमा राखेर नयाँ धान राखिएको भकारी वा कुथीमा स्थापना गरी पूजा गरिन्छ ।
चौथो दिन झिकेर चेलीबेटीलाई समेत बोलाई परिवारमा प्रसादका रूपमा बाँडिन्छ । संस्कृतिविद्हरूका अनुसार परम्परादेखि नै यो चाड नयाँ धान भित्र्याएको खुसियालीमा मनाइँदै आएको आजका दैनिक पत्रिकाहरुमा समाचार छ ।
पूणिर्माको रातमा टोलछिमेकीका बालबालिकाहरू योमह्री च्वामु, उकिया दुने हाकु, व्युसा माकु, मव्यु सा फाकु, व्यु म्ह ल्यासे, मव्युम्ह बुराकुटी (योमह्री चुच्चो, त्यसभित्र गुलियो, दियो भने मीठो दिएन भने टर्रो, योमह्री दिए तरुनी, नदिए बुढीकुटी) भनी भाका हालेर नेपालभाषामा गीत गाउँछन् । तिहारमा द्यौसी र भैलो खेलेझैं योमह्री माग्न जाने चलन छ ।