‘ अस्पतालको फार्मेसीमा गैरफार्मेसी व्यक्तिको नियुक्ति बदर गर ‘

काठमाडौँ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ चितवनले भरतपुर सरकारी अस्पताल (महेन्द्र आदर्श चिकित्सालय) को फार्मेसीमा गरिएको गैरफार्मेसी व्यक्तिको नियुक्ति बदर गर्न माग गरेको छ । जनस्वास्थ्यकर्मी महासङ्घ चितवनका संयोजक होमनाथ पौडेलले विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन्। संयोजक पौडेलले विज्ञप्ति भनेका छन् – ‘उक्त प्रक्रियाविरुद्ध चलिरहेको विरोधप्रति हाम्रो सङ्गठनको पनि ऐक्यबद्धता छ । साथै आवश्यक परेको खण्डमा हरकिसिमको विरोध र प्रतिरोध गर्ने तयारी रहेको विषय यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।’
यस बिषयमा जनस्वास्थ्यकर्मी महासङ्घ चितवनका संयोजक होमनाथ पौडेलले जारी गरेको विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ- ” हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ चितवन जिल्ला समिति हिजोका दिनमा विभिन्न स्वास्थ्य संस्थामा भएका विकृति, अनियमितता, लापरबाही र भ्रष्टाचारका विरुद्धमा र विभिन्न स्वास्थ्य जनतचेतनामूलक विषयमा विभिन्न कार्यक्रम गर्दै आएको सर्वविदितै छ ।
यसै सिलसिलामा भरतपुर महानगरपालिकामा रहेको भरतपुर सरकारी अस्पताल (महेन्द्र आदर्श चिकित्सालय) को फार्मेसीमा गरिएको गैरफार्मेसी व्यक्तिको नियुक्तिप्रक्रिया हाम्रो सङ्गठनको चासोको विषय बनेको छ र उक्त प्रक्रियाविरुद्ध चलिरहेको विरोधप्रति हाम्रो सङ्गठनको पनि ऐक्यबद्धता छ । साथै आवश्यक परेको खण्डमा हरकिसिमको विरोध र प्रतिरोध गर्ने तयारी रहेको विषय यसै विज्ञप्तिमार्फत जानकारी गराउँदै कोरोनामा सरकारी अस्पताललाई अस्तव्यस्त पार्ने त्यस अस्पतालका आधिकारिक जिम्मेवार व्यक्तिको भण्डाफोर गर्न सम्पूर्ण सरोकारवाला निकाय, बुद्धिजीवी, पत्रकार, युवा, स्वास्थ्यकर्मीलगायत आमजनसमुदायलाई अपिल गर्दछाैँ ।”