सुकुमबासीको घर भत्काउनु अमानवीय र आपराधिक कार्य

२०७८ जेष्ठ ७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले सुकुमबासीका घरछाप्रा डोजर लगाएर भत्काइ दिएको भन्दै यो अमानवीय, अनैतिक र आपराधिक कार्य भएको बताएको छ । सो पार्टीका जिल्ला इन्चार्ज विवेक कुमाल र सेक्रेटरी लक्ष्मण पौडेलले विज्ञप्ति जारी गर्दै कोरोना महामारीबाट थलिएका र बुबाको किरियापुत्री बसेका उदयपुर कटारी नगरपालिका वडा नं. ४ बस्ने सुकुमबासी दिनेश दनुवार, सन्तबहादुर सुनुवारलगायत सुकुमबासीका घरछाप्रा कटारी नगरपालिकाले डोजर लगाएर भत्काइदिएको भन्दै यो अमानवीय, अनैतिक र आपराधिक कार्य भएको बताएको हो ।
इन्चार्ज कुमाल र सेक्रेटरी पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले देश कोरोना महामारीको दोस्रो लहरबाट पिल्सिरहेको छ । देशैभरि राज्यद्वारा निषेधाज्ञा जारी गरिएको छ । यतिबेला राज्यको प्रमुख दायित्व जनताको स्वास्थ्यसुरक्षाको ग्यारेन्टी गर्नुपर्ने हो । महामारीले आक्रान्त भएका भूमिहीन सुकुमबासीको घरमा कथित स्थानीय सरकारले उदयपुर कटारी नगरपालिका वडा नं. ४ बस्ने सन्तबहादुर सुनुवार, बुबाको किरियापुत्री बसेका स्थानीय सुकुमबासी दिनेश दनुवारलगायतको घर मिति २०७८ जेठ ५ गते कटारी नगरपालिकाले डोजर लगाएर भत्काएको छ । यो घटना स्थानीय निकायको अमानवीय, अनैतिक र आपराधिक कार्य रहेको हाम्रो पार्टीको ठहर रहेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त घटनाको हाम्रो पार्टी घोर भत्र्सनाका साथै निन्दा गर्दछ । पीडित सुकुमबासीहरूलाई क्षतिपूर्तिसहित उचित व्यवस्थाका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दछ । यो घटना नेपालको असफल दलाल संसदीय व्यवस्थाको उपज हो । नेपालमा दलाल संसदीय व्यवस्था रहुन्जेलसम्म नेपालका सुकुमबासी, भूमिहीन, किसान, श्रमजीवी वर्गको समस्या दोहोरिरहने भएकाले नेपालमा दलाल संसदीय व्यवस्थाको अन्त्य गरी श्रमजीवी वर्गको वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि सम्पूर्ण भूमिहीन, किसान, श्रमजीवी वर्गलाई एकताबद्ध भई सङ्घर्ष गर्न आह्वान गर्दछौँ ।’

प्रतिक्रियाहरु

[anycomment]