‘जनतालाई कोरोना महामारीबाट मुक्त गर ‘

काठमाडौँ । राष्ट्रिय जागरण मञ्च नेपालले भारतीय भेरिएन्टको कोरोना भाइरस सङ्क्रमणले मुलुकमा शोकधुन बजिरहेको र सिङ्गो राष्ट्र शोकमग्न रहेको अवस्थामा संसदीय पार्टीहरू आफ्नो राजनीतिक पद जोगाउन, सरकारमा पुगी सत्ताको रसास्वादन गर्ने खेलमा व्यस्त भएको बताउदै राजनीतिक पार्टीहरूलाई यी फोहोरी खेलबाट बाहिर निस्की जनतालाई यो महामारीबाट मुक्त गर्न एक भएर लाग्न विशेष अनुरोध गरेको छ । मञ्चका संयोजक गुणराज लोहनीले ‘फोहोरी राजनीति बन्द गर ! जनताको स्वास्थ्यको सुनिश्चितता गर !!’ शीर्षकमा बिज्ञप्ति जारी गर्दै भनेका छन् – ‘पछिल्लो क्रममा देशमा महामारीका रूपमा फैलिएको भारतीय भेरिएन्टको कोभिडको सङ्क्रमण, त्यसबाट आहत जनताको बेवास्ता गर्दै भएका राष्ट्रिय राजनीतिक घटनालाई लिएर हाम्रो मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ । नयाँ भेरिएन्टबाट दैनिक जसो २ सयको आसपासमा मृत्यु हुनु र हजारौँको सङ्ख्यामा जनता सङ्क्रमित भई जायजेथा बेच्दा पनि उचित उपचार नपाउँदा नेपाली जनताले भोग्नुपरेको असह्य पीडामा राष्ट्रमा शोकधुन बजिरहेको छ । अहिले सिङ्गो राष्ट्र शोकमग्न छ । तर संसदीय पार्टीहरू आफ्नो राजनीतिक पद जोगाउन, सरकारमा पुगी सत्ताको रसास्वादन गर्ने खेलमा व्यस्त छन् । त्यसैले हाम्रो मञ्च सबै राजनीतिक पार्टीहरूलाई यी फोहोरी खेलबाट बाहिर निस्की जनतालाई यो महामारीबाट मुक्त गर्न एक भएर लाग्न विशेष अनुरोध गर्दछ ।’
संयोजक लोहनीद्वारा जारी बिज्ञप्तिमा अगाडी भनिएको छ – ” अहिलेसम्मका गतिविधि र चरित्रलाई हेर्दा संसदीय व्यवस्थाको विकल्पमा जनताको नयाँ राज्यप्रणालीका लागि आमजनता सचेत हुनुपर्ने देखिन्छ । तसर्थ सबै देशभक्त, सच्चा लोकतान्त्रिक, वामपन्थी शक्तिलाई वैज्ञानिक समाजवाद स्थापनार्थ प्रगतिशील अन्तरिम सरकार निर्माण गरेर जनमतसङ्ग्रहका लागि अघि बढ्न पनि विशेष अपिल गरिन्छ ।”
