अखिल (क्रान्तिकारी) द्वारा ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

२०७८ जेष्ठ ८ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले कोभिड–१९ विरुद्ध विद्यार्थी अभियानअन्तर्गत रूपन्देही जिल्लास्थित लुम्बिनी प्रादेशिक अस्पताललाई शुक्रबार ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वास र अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले अस्पतालका मेसु डा. राजेन्द्र खनाललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले कोरोना भाइरसको यो महामारीमा वर्तमान राज्य व्यवस्थाले स्वास्थ्य क्षेत्रलाई सही तरिकाले परिचालन गर्न नसक्दा देशव्यापी रुपमा अस्पतालका कर्मचारी र बिरामीहरूमा विभिन्न समस्याहरू उत्पन्न भइरहेको बताए । उनले अस्पतालमा अक्सिजन अभावका कारण जनताले अकालमा ज्यान गुमाउन नपरोस् भनेर मानव जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको बताए ।

डा. राजेन्द्र खनालले कोभिड–१९ ले देशव्यापी रुपमा आक्रान्त र हैरानी पारिरहेको परिस्थितिमा अस्पतालमा बेड र अक्सिजनको अभावका कारण लाखौँ जनताको ज्यान गएको बताए । उनले अस्पतालमा अक्सिजन अभाव भइरहेको र यस मानव सङ्कटको दुखद् घडीमा जीवनप्रतिको दायित्वलाई सम्झेर अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकोमा पार्टी र विद्यार्थी संगठनलाई आगामी कार्यक्रममा लागि शुभकामनासहित धन्यवाद प्रकट गरेका थिए । अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले कोरोना भाइरसको यो डरलाग्दो परिस्थितिमा शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा विभिन्न राजनीतिक दल पूर्ण बफादार भई लाग्नुको साटो कुर्सी र सत्ता प्राप्तिको लागि लिप्त रहेको बताए । संयोजक विरेन्द्रले देशमा दलाल संसदीय व्यवस्था रहँदासम्म स्वास्थ्यलगायत यावत् क्षेत्रमा भ्रष्टाचार, दलालीकरण, व्यापारीकरण कायम रहने भन्दै यस प्रकारका सम्पूर्ण समस्याहरूको पूर्ण समाधानका लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए । उनले कोभिड–१९ विरुद्ध विद्यार्थी अभियानअन्तर्गत आफ्नो संगठले देशव्यापी रुपमा मास्क, सेनिटाइजर वितरण, जनस्वास्थ्यसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको र यसै सन्दर्भमा लुम्बिनी प्रादेशिक अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको बताए । कार्यक्रममा संगठनकी रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढा मगरलगायत पार्टी र संगठनका विभिन्न नेता तथा कार्यकर्ताहरू, अस्पतालका कर्मचारी, जनस्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु