सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा नियुक्त

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । कोभिड—१९ संकट व्यवस्थापन अध्यादेशमा भएको व्यवस्था बमोजिम शर्मालाई सीसीएमसीको प्रमुख नियुक्त गरिएको हो । सीसीएमसीभन्दा माथि कोभिड १९ संकट निर्देशक समिति रहने अध्यादेशमा व्यवस्था छ । यो समितिको नेतृत्व प्रधानमन्त्री स्वयमले गर्ने र उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, गृहमन्त्री, उद्योग वाणिज्यमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने व्यवस्था छ । निर्देशक समितिको सदस्य सचिवमा सीसीएमसीका प्रमुख रहने व्यवस्था अध्यादेशमा छ ।
कोरोना महामारीको दोस्रो लहरले देश आक्रान्त भई जटिल अवस्थामा रहेकै बेला सरकारले शर्मालाई प्रमुख जिम्मेवारी दिएको हो । यसअघि सरकारले मन्त्रिपरिषदको निर्णयबाट सीसीएमसी गठन गरेको थियो । हाल सरकारले कोभिड संकट व्यवस्थापन अध्यादेश ल्याएर कानुनी व्यवस्था गरेको छ । अध्यादेशको व्यवस्थाअनुसार सीसीएमसी गठन गरिएको हो ।