काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा !

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकपछि उपत्यकाका ३ जिल्लामा एक साताका लागि निषेधाज्ञा थपिएको छ । कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू भएको थियो । निषेधाज्ञाको कारण कोरोना संक्रमण दर केही कम भएपनि अपेक्षित नतिजा नआएको भन्दै पुनः जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । थपिएको अवधिमा निषेधाज्ञालाई थप कडाइका साथ लागू गरिने जनाइएको छ । अब बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल खोल्न पाइने छ । तर, अब किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु खोल्न नपाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
यसैगरी ,निषेधाज्ञाको पालना नगर्नेलाई हालै जारी कोभिड–१९ अध्यादेशअनुसार उल्लंघन गर्नेलाई कारबाही गर्ने पनि निर्णय भएको छ ।
अध्यादेशमा अनुमति विना वा बिरामी ओसारपसार गर्ने प्रयोजनबाहेक सवारीसाधन चलाउनेलाई कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ । मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकैपिच्छे एक सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ । साथै, हिँडडुलमा रोक लगाएको अवस्थामा विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने भनिएको छ ।


