नेकपाद्वारा नदिजन्य पदार्थको अवैध दोहन तत्काल बन्द गर्न / गराउन अपिल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले केही भ्रष्ट जनप्रतिनिधि, कर्मचारी र केही व्यवसायको मिलेमतोमा अवैध नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा दोहन गर्ने र राष्ट्रिय गौरवको योजनाको नाममा अवैध ढङ्गबाट केही क्रसर उद्योगमा ओसारपसार गर्ने जस्ता कार्य तत्काल बन्द गर्न / गराउन सम्बन्धित निकायलाई अपिल गरेको छ । नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विदुरले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी जिल्लाका विभिन्न ठाउँका खोलाहरूमा प्राकृतिक स्रोत र साधन दोहनको लागि प्रयोग गरिएका स्काइभेटर / सम्बन्धित धनिलाई तुरुन्तै खोलाबाट हटाउनको लागि समेत विशेष अनुरोध गरेका छन् ।सेक्रेटरी विदुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लामो समयको लकडाउनको कारण दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्ने मजदुर तथा श्रमजीवी वर्गको अवस्था थप दयनीय बन्दै गइरहेको छ । यस्तो विषम परिस्थितिमा मौकाको फाइदा उठाउँदै रूपन्देहीका बुटवल उपमहानगरपालिका, देवदह, सैनामैना, तिलोत्तमा नगरपालिका, सियारी, मायादेवी, सुद्वोधन गाउँपालिका लगायत अधिकांश स्थानीय निकायहरूले तिनाउ नदि, दानव नदि, कर्साघाट, कन्चनखोला, चरङ्गे ठाडो खोला, चरङ्गे बीचखोला, रोहिणी नदि, भलुहीखोला, घोडाहाखोला लगायतका खोलाहरूमा केही भ्रष्ट जनप्रतिनिधि, कर्मचारी र केही व्यवसायको मिलेमतोमा कथित ठेक्का र राष्ट्रिय गौरवको आयोजनाको नाममा आफैले बनाएको ऐन / निमावली विपरीत नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा दोहन गर्ने र केही क्रसर उद्योगमा अवैध ओसारपसार गर्ने गरेको कार्यप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।’विज्ञप्तिमा भनिएको छ, ‘अवैध नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा दोहन गर्ने र राष्ट्रिय गौरवको योजनाको नाममा अवैध ढङ्गबाट केही क्रसर उद्योगमा ओसारपसार गर्ने जस्ता कार्य तत्काल बन्द गर्न/गराउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ । साथै प्राकृतिक स्रोत र साधन दोहनको लागि प्रयोग गरिएका स्काइभेटर / जेसिबी सम्बन्धित धनिलाई तुरुन्तै खोलाबाट हटाउनको लागि समेत विशेष अनुरोध गर्दछौँ । हाम्रो अनुरोधलाई वेवास्ता गरिएमा सङ्घर्षबाट हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने कुरा जानकारी गराउदछौँ ।’विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट सचेत भई स्वस्थ्य रहन र सबै प्रकारका अन्यायका विरुद्ध एकजुट हुन रूपन्देहीबासी जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’