एमाले स्थायी कमिटीको बैठक बस्दै : नेपाल–खनाल समूहको बैठकमा सहभागी नहुन चेतावनी

२०७८ जेष्ठ २० गते, बिहीबार


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन । बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने कार्यसूची रहेको तामाङले बताए। गत मंगलबारको बैठकले एकताका लागि अतिकतम पहल गर्ने निर्णय गरेको थियो। एमालेमा माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, रघुजी पन्तलगायतका केही नेता कुनै पनि हालतमा आउन नचाहेको निष्कर्षका निकालिएको छ। नेपाल समूहका केही नेताहरूलाई पार्टीमा फर्काउन अधिकतम पहल सुरु भएको छ। यस्तै हिजो सत्तारुढ नेकपा एमाले विभाजनको डिलमा पुगेपछि आपसी विवाद मिलाउन नेताहरू अनौपचारिक रुपमा सक्रिय भएका छन् । विभाजन रोक्न दोस्रो तहका अन्य नेताहरुले गृहकार्य गरिरहेका बेला पार्टीका महासचिव ईश्वर पोखरेलले थप अनौपचारिक परामर्श अघि बढाएका छन्। महासचिव पोखरेलले बुधबार पार्टीका नेता योगेशकुमार भट्टराईसँग छलफल गरे। विद्यमान स्थिति र दुवै पक्षका प्रस्ताव तथा आवश्यकतालाई कसरी सम्बोधन गराउने र पार्टीलाई एकताबद्ध कायम राख्ने विषयमा छलफल भएको महासचिव एवं उपप्रधानमन्त्री पोखरेलको सचिवालयले जनाएको छ। नेता भट्टराईलगायत केही नेता नेपालनिकट मानिए पनि विपक्षीलाई प्रधानमन्त्री बनाउन गठबन्धन वा नयाँ पार्टी दर्ता गर्ने विषयमा असहमत भएकोले उनीहरु एकताका लागि अग्रसर भएका छन्।

यसैबीच , एमालेले वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएको छ । एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार बिहान विज्ञप्ति जारी गरेर अनधिकृत समूहले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएका हुन् ।
‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था विपरित पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो कृयाकलापको निन्दा एवम् भर्त्सना गर्दछु’, सचिव तामाङले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरूलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सूचित गर्दछु’, एमालेका सचिव तामाङले भनेका छन् । माधव नेपाल–झलनाथ खनाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नेपाल–खनाल समूहको बैठक बिथोल्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले विभिन्न रणनीति बनाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]