महानगर’ होर्डिङ बोर्ड मुक्त बनाइदै
काठमाडौं, ५ पुस – काठमाडौं महानगरपालिकाले विज्ञापनमा ठुलो रकम खर्च गर्ने दातालाई शहरलाई सफा राख्ने र हरियाली बनाउने कार्यक्रममा आकर्षित गर्ने तयारी थालेको छ ।सार्वजनिक ठाउँ र घरहरुमा होर्डिङबोड राख्न ठूलो रकम खर्चनेलाई सामाजिक काममा लगानी गराउन नयाँ कार्यक्रमको तयारी भएको महानगरपालिकाले जनाएको छ ।अहिले नगरक्षेत्रलाई व्यवसायीक होर्डिङबोर्ड मुक्त क्षेत्र घोषणा गरिसकेकाले व्यवसायीक होर्डिङबोर्डमा लगानी गर्ने विज्ञापनदातालाई लक्षित गरी नयाँ योजनाको तयारी भएको महानगरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले बताए ।
उनले नगरक्षेत्रमा राखिएका छिटफुट बाहेक सबै होर्डिङबोड हटाएको बताए । महानगरपालिकाले तुरुन्तै चक्रपथ क्षेत्रमा रहेका होर्डिङबोडलाई हटाईसक्ने जनाएको छ । सापकोटाका अनुसार यसरी हटाईएको होर्डिङबोडबाट १५ लाख भन्दा धेरै मूल्यका फलाम लिलाम भइसकेका छन् ।अझै ४६ टन फलाम लिलामका लागि तयारी अवस्थामा छ । काठमाण्डू शहरलाई सफा र सुन्दर राख्न महानगरपालिकाले गएको असार १६ गतेदेखि होर्डिङबोर्ड हटाउने अभियान थालेको हो ।