नागरिकतासम्बन्धी अध्यादेशको सुनुवाई गर्न वरिष्ठतम् न्यायाधीशको संवैधानिक इजलाश गठन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नागरिकता सम्बन्धी अध्यादेशविरूद्ध परेका रिटको सुनुवाईका लागि वरिष्ठ न्यायाधीशहरू रहेको संवैधानिक इजलाश गठन गरेका छन । उनले संवैधानिक इजलाश तोक्दा वरिष्ठताको रोलक्रम अनुसार आफुसहित दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा तोकेका छन । वरिष्ठ पाँच न्यायाधीश मध्ये विश्वम्भर श्रेष्ठ स्वास्थोपचारका क्रममा रहेकाले त्यसपछिका बरिष्ठतम् न्यायाधीश खतिवडालाई बेञ्चमा राखिएको हो ।
प्रतिनिधि सभा विघटनविरूद्ध परेको रिट सुनुवाईका लागि संवैधानिक इजलाशमा रोष्टरमा रहेका मध्ये कनिष्ठ न्यायाधीश राखिएकामा इजलाशमै वकीलहरुले विरोध जनाएका थिए । नेकपा विवादको फैसला र पुनरावलोकन नहुने आदेश दिने दुई न्यायाधीशलाई पनि इजलाशमा राखेपछि न्यायाधीशरुबीच मै पनि मनमुटाव भएको थियो ।