मलेसियाको प्रवेशाज्ञा शुल्क घटाउन माग
काठमाडौँ, ५ पुस । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर तामाङले रोजगारीका लागि मलेसिया जान चाहने कामदारको प्रवेशाज्ञा शुल्क मलेसिया दूतावासले वृद्धि गरेकामा त्यसलाई कूटनीतिक पहलबाट घटाउन माग गरेका छन ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा दूतावासले प्रवेशाज्ञा प्रक्रियाका लागि रु ७०० लिँदै आएका तर गत कात्तिक १५ गतेदेखि रु तीन हजार ९००।– बनाइएकामा सङ्घ विरोध जनाएको हो । दूतावासको निर्देशनमा ‘बेस्टीनेट’ नामक संस्थाले बायो–मेडिकलका नाममा मेडिकल शुल्क बढाई केही मेडिकल सेन्टरलाई मान्यता दिन लाग्नु अवैधानिक हो भन्दै सोको खारेजीको माग गरिएको छ ।
नेपाली बेरोजगार युवाको आकर्षक गन्तव्यका रुपमा अहिले मलेसिया रहेको र प्रत्येक वर्ष करिब एक लाख ५० हजार कामदार त्यहाँ पुग्ने गरेको बताइएको छ । सङ्घले सो विषयमा विरोध गर्दै गत कात्तिक २८ गते मन्त्रिपरिषद्का अध्यक्ष, परराष्ट्र, श्रम तथा रोजगार र गृह मन्त्रालय, मुख्य सचिवको सचिवालय र नेपालस्थित मलेसियाली दूतावासमा ज्ञापनपत्र बुझाइसकेको छ ।