युवा सङ्गठनद्वारा कोरोनाबाट ज्यान गुमाएका नागरिकको सम्झनामा दीप प्रज्वलन

२०७८ जेष्ठ २६ गते, बुधबार


काठमाडौँ । युवा सङ्गठन नेपालले देशका बिभिन्न स्थानमा कोरोनाबाट ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनले मङ्गलबार कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूको सम्झना स्वरूप रूपन्देहीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विदुरले कोरोना भाइरसबाट ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कोरोना महामारीले लाखौँ मानविय क्षति र करोडौँ जनता प्रभावित भइरहेको बताए । उनले राज्य र राज्यका केही स्थानीय निकायहरू कोरोना महामारीले देशव्यापी रुपमा आक्रान्त पारिरहेको यस्तो विषम परिस्थितिमा कोरोना भाइरसलाई परास्त गर्न उचित पहल गरी निकास दिनुको सट्टा अवैध ढङ्गबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवाजस्ता प्राकृतिक स्रोत र साधन दोहन गर्ने कार्यमा सक्रिय रहेको बताए । उनले देशमा दलाल पुँजीवादी संसदीय व्यवस्था रहेसम्म किसान, मजदुर, युवा, विद्यार्थी अर्थात् सम्पूणर् श्रमजीवी वर्गको अवस्था झन् कमजोर बन्दै गइरहने बताए । ‘वर्तमान दलाल संसदीय व्यवस्था वा वैज्ञानिक समाजवादी व्यवस्थाबारे फैसला गर्ने अधिकार जनतालाई दिनुपर्छ । त्यसका लागि हाम्रो पार्टीले अगाडि सारेको जनमत सङ्ग्रहमा जाऔँ’, उनले भने ।
युवा सङ्गठन नेपाल रूपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीले कोरोना महामारीले मानव नै सङ्कटमा परिरहेको गम्भीर अवस्थामा सबै मिलेर आआफ्नो तहबाट जनसेवामा जुट्नुपर्ने बताए । उनले राज्यका लापरबाहीका कारण कोरोना भाइरसबाट लाखौँ नागरिकले ज्यान गुमाउनु परेकोमा दुख व्यक्त गरे । कार्यक्रममा नेकपा रूपन्देही र पार्टी निकट विभिन्न जनवर्गीय सङ्गठनका थुप्रै नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता र सञ्चालन युवा सङ्गठन नेपाल रूपन्देही जिल्ला अध्यक्ष सन्तोष सुवेदीले गरेका थिए ।
यसैगरी , युवा सङ्गठन, नेपाल कैलालीको आयोजनामा कोभिड १९ को माहामारीमा परि ज्यान गुमाउनेहरूको सम्झनामा दिप प्रज्वलन गरिएको छ । घोडाघोडी नगरपालिकाको साँडेपानी बाजारमा नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठन नेपाल कैलालीले दिप प्रज्वलन गरेको हो । दिप प्रज्वलन कार्यक्रममा युवा सङ्गठन नेपाल कैलाली अध्यक्ष पुष्प भट्ट, नेकपा घोडाघोडी नगर इन्चार्ज भरत शाह, कैलाली जिल्ला सदस्य श्याम सापकोटा, नगर सचिव अर्जुन चौधरी, भुवन रम्तेल लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा कोरोना महामारीमा निधन भएकाहरूको स्मृतिमा मौनधारण गर्दै मङ्गलबार कोरोना सङ्क्रमित भई सेती प्रादेशिक अस्पताल धनगढीमा निधन भएका नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सदस्य अरूण थारू लगायतको स्मृतिमा दिप प्रज्वलन गरिएको युवा सङ्गठन नेपाल कैलालीका अध्यक्ष पुष्प भट्टले जानकारी दिए ।
यता, युवा सङ्गठन, नेपाल दाङको आयोजनमा तुलसीपुरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कोभिड-१९ को सङ्क्रमणबाट ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरूको सम्झनामा दिप प्रज्वलन गरिएको युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तिलक योगीले बताए । कार्यक्रममा युवा सङ्गठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोज परियारले सङ्गठन कोभिड माहामारीको विषम परिस्थितिमा जनसेवा, जनश्रमदान, रक्तदान, विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने अभियानमा जुटेको बताए ।
दिप प्रज्वलन कार्यक्रममा युवा सङ्गठन नेपाल जिल्ला समिति दाङका नेता-कार्यकर्ता, युवा सङ्गठन नेपाल तुलसीपुर नगर कमिटीका जिम्मेवार नेता-कार्यकर्ता, अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्का लगायतको सहभागिता रहेको थियो । केही समय अघि सङ्गठनले कोरोना बिशेष अस्पताल बेलझुन्डीमा बिरामी कुरुवा प्रतीक्षालय निर्माणमा जनश्रमदान, कोभिड माहामारीमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम र विपन्न दलबहादुर शाहु घर निर्माण अभियानमा निर्माण सामाग्री, खाद्यान्न सहयोग गरेको थियो ।
त्यसैगरी , युवा सङ्गठन नेपाल सप्तरी र महोत्तरीले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य बिचारमान थिङले बताए अनुसार मङ्गलबार २०७६ जेठ २५ गते नेपाल कम्युनिस्ट पार्टीका सहायक सङ्गठन युवा सङ्गठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार कोरोना भाइरस कोभिड-१९ को महामारीबाट ज्यान गुमाउनु भएका सम्पूणर् नागरिकहरूको सम्झना स्वरुप दिप प्रज्वलन गरिएको छ । जिल्ला सप्तरीमा युवा सङ्गठन नेपालका जिल्ला संयोजक कार्तिकको नेतृत्वमा सप्तरीका युवाहरूको उपस्थितिमा दिप प्रज्वलन गरिएको थियो । युवा सङ्गठन जिल्ला समिति महोत्तरीले जिल्ला अध्यक्ष प्रण कुमार लामाको नेतृत्वमा दिप प्रज्वलन गरिएको थियो । दिप प्रज्वलनसँगै सप्तरी र महोत्तरीका युवाहरूले कोरोना सचेतना अभियान सञ्चालन गरिएको छ । कोरोना भाइरसबाट सुरक्षित रहनको लागि माक्स, सेनिटाइजर जस्ता सामग्रीहरू पनि सुकुमबासी बस्तीहरूमा वितरण गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]