पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

२०७८ असार १७ गते, बिहीबार


काठमाडौ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले विभिन्न ठाउँमा पुलहरु बगाउन, भत्काउन थालेपछि राजमार्ग अवरुद्ध भएको छ । बाढीले चितवनमा ठूलो क्षति पुर्‍याउन थालेको छ। यहाँका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ। पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले धुसरी पुल भत्काइदिएको छ। उक्त पुल भत्किँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्ग रोकिदा एकतर्फको नाकाबाट काठमाडौसँगको सम्पर्क विच्छेद भएको छ । अहिले लदरी खोलो पूर्व–पश्चिम राजमार्गमा पसेको स्थानीयले बताएका छन्। खोला राजमार्ग हुँदै बस्तीतर्फ छिर्न थालेपछि स्थानीय त्रसित छन्।
बुढी राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासका क्षेत्र प्रभावित बनेका छन्। यो खोलो चित्रसारीबाट सौराहा प्रवेश गर्ने सडकभन्दा परसम्म पुगेको छ। यो खोलोले रत्ननगर–८ बाघमारास्थित रमाइलो बस्तीका २१ घर डुबानमा परेका छन्। त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। रतननगर–७ का मैनाहा र मालपुरमा पनि बाढी पसेको छ। बुधबारदेखि नै परेक‍ो वर्षाका कारण रातिदेखि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध छ। उक्त सडकमा आधा दर्जन बढी स्थानमा पहिरो खसेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। देशभरका विभिन्न राजमार्ग र सडकमा पहिरो खसेर ठूलो क्षति भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]