नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२०७८ असार १८ गते, शुक्रबार


काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । लगातारको वर्षााले मुग्लिन-नारायणगढ सडक खण्डको विभिन्न ठाउँमा पहिरो गएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
यसअघि वर्षाका कारण १४ किलोमा पहिरो खस्दा बाटो एकतर्फी मात्रै सञ्चालनमा आउन सकेको थियो । हिजो साँझ ठूलो ढुंगासहित पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । लगातारको वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डको विभिन्न ठाउँमा छिनछिनमा पहिरो झर्ने क्रम रोकिएको छैन ।

यता , पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो । बिहीबार साँझ मोटरसाइकल चल्न मिल्ने गरी निर्माण गरिएको नयाँ डाइभर्सनमा ट्र्याक्टर फसेपछि राजमार्ग पुनः अवरुद्ध बनेको छ । बिहान साढे १० बजेदेखि राजमार्गको सो सडक अवरुद्ध भएको हो । गैँडाकोट–१० मा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरभद्र नाथले फसेको ट्र्याक्टर निकालेर डाइभर्सन मर्मतको काम भइरहेको जानकारी दिए । सुरक्षा निकायले जेसिबीको सहायताले एकतर्फी भए पनि सवारी साधन सञ्चालन गर्न मिल्ने गरी काम गरिरहेको नाथले बताए ।
पूर्वपश्चिम राजमार्गको यस खण्डमा आज बिहानसम्म पनि सवारी साधन सञ्चालन हुन नसक्दा सडकमा पूर्व र पश्चिम जाने सवारी साधनको करिब चार किलोमिटर भन्दा लामो लाइन छ । राजमार्ग विस्तारका लागि साना पुल हटाएर नयाँ मोटरेबल पुल निर्माण गर्ने क्रममा सवारी साधन सञ्चालनका लागि बनाइएको डाइभर्सन बाढीले बगाएको थियो । गैँडाकोटको थुम्सी क्षेत्रमा निर्माण गरिएको २३ स्मृति पुलसहित विभिन्न चार स्थानको डाइभर्सन बाढीले बगाउँदा पूर्णरूपमा सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]