आऊ क्रान्ति आऊ

आऊ क्रान्ति आऊ, तिमी जन्मिएर आऊ
हर युगका क्रान्तिकारी सारथी भएर आऊ
जहाँ शोषण, दमन हुन्छ त्यहाँ प्रतिगमन हुन्छ
जहाँ अन्याय अत्याचार महँगीले असमान छुन्छ
गुण्डागर्दी, लुट र आतंक मच्चिएको गाउँहरूमा
साँढेको जुधाइ बाछाको मिचाई हुने ठाउँहरूमा
आऊ क्रान्ति आऊ तिमी जन्मिएर आऊ
लुला, लंगडा र बेसहराका हातपाउ समाऊ
जनविरोधी, राष्ट्रघाती दुश्मनका किल्लाहरुमा
निर्मलाको अस्मिता हरण भएका जिल्लाहरूमा
अशान्ति नै अशान्तिको रंगले रंगिएको सहरमा
शान्तिको ढोल बजाउदै आऊ विहानी प्रहारमा
आऊ क्रान्ति आऊ, तिमी जन्मिएर आऊ
भोक, शोक र रोगले मस्त सुतेकालाई जगाऊ
भ्रष्टाचार, अन्याय र अत्याचार हटाउन
जनतामारा दलालहरुलाई डाँडा कटाउन
संसदवादले अड्डा जमाएका दरबारहरुमा
गरीब, निमुखा जनता बस्ने घरबारहरुमा
आऊ क्रान्ति आऊ तिमी जन्मिएर आऊ
अन्धकारले स्तब्ध यो संसार जगमगाऊ
राहत त कतै वर्षायामको पुल बनेर आऊ
न्यायोचित बास्नादार त्यो फूल बनेर आऊ
वैज्ञानिक समाजवाद हुँदै साम्यवाद चुम्ने
सच्चा कम्युनिस्ट क्रान्तिकारी हुल बनेर आऊ
आऊ क्रान्ति आऊ, तिमी जन्मिएर आऊ
सँगै मलाई तिम्रो सपनाको सहरमा लैजाऊ
वैशाखी बनेर आऊ तिमी सहरा बनेर आऊ
पूँजीवादको हावाले नढल्ने पहरा बनेर आऊ
आउन चाहिँ आऊ तिमी जरूर एकदिन आऊ
सुनौलो बिहान नक्षत्रका ती तारा बनेर आऊ
लेखक : अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष हुन्।