नेकपाका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता : तीन बुँदै सहमति कार्यान्वयनलाई गति दिन सहमत

२०७८ असार २० गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं वार्ता टोलीका प्रमुख प्रकाण्ड र प्रधानमन्त्री केपी ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा तीन बुँदै सहमति कार्यान्वयनको विषयमा छलफल भएको बताइएको छ । छलफलमा नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताको रिहाई र उनीहरुमाथि लगाइएको मुद्दा खारेजी गर्ने कार्य अन्तिम चरणमा पुगेको र कोरोनाका कारण जारी लक्डाउन र बर्तमान राजनीतिक संकटका कारण केहि ढिलो हुन् गएको निष्कर्ष निकालिएको बताइएको छ । प्रधानमन्त्री ओलीसंगको भेटवार्तापछि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले पत्रकारहरुसंगको भेटमा सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री ओली तीन बुँदे समझदारीमा उल्लेखित विषयलाई सात / दश दिनभित्र पूरा गर्न सकरात्मक भएको बताएका छन।
प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री ओलीले यस कार्यको सहजिकरण गर्न परराष्ट्र सल्लाहकार एवं वार्ता समितिका सदस्य राजन भट्टराईलाई निर्देशन दिएको समेत बताए ।


यसैगरी , सो भेटवार्तामा देश र जनतालाई कोरोना महामारीवाट मुक्त पार्न तत्काल सम्पूर्ण जनतालाई खोपको व्यवस्था गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको र प्रधानमन्त्री ओलीले त्यस कार्यमा आफु कटिबद्ध भएर लागेको जवाफ दिएको प्रवक्ता प्रकाण्डले बताए। त्यसैगरी प्राकृतिक प्रकोपवाट पिडित जनतालाई उचित क्षतिपूर्ति , राहत र व्यवस्थापन गर्न समेत प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको प्रवक्ता प्रकाण्डले बताए।
भेटवार्तामा वर्तमान जटिल राजनीतिक संकटको फैसला गर्ने अधिकार जनतालाई दिनु पर्ने भन्दै वर्तमान राजनीतिक संकटको एकमात्र बिकल्प जनमत संग्रह रहेकोले त्यसतर्फ कदम चाल्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको प्रवक्ता प्रकाण्डले बताए।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं वार्ता टोलीका प्रमुख प्रकाण्ड र प्रधानमन्त्री केपी ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा नेकपाका नेता धर्मेन्द्र बास्तोला र प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार एवं वार्ता समितिका सदस्य राजन भट्टराई सहभागी भएका थिए।

प्रतिक्रियाहरु

[anycomment]