‘सुजीता भण्डारीको हत्यारालाई कारवाही गर’

२०७८ असार २२ गते, मंगलवार


काठमाडौं । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी चितवनले सुजीता भण्डारीको हत्यारालाई कारवाही गर्न माग गरेको छ। सङ्घको चितवन अध्यक्ष अन्जना तामाङलेविज्ञप्ति जारी गर्दै सुजीता भण्डारीको अपहरणपछि हत्या गर्ने हत्यारा पत्ता लगाई सार्वजनिक गर्न जोडदार माग गर्दै भण्डारीको हत्यारालाई कारवाही गर्न बेवास्ता गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएकी छिन् । उनले यहि असार ११ गते बिहान साथीको घरमा जाने भनेर हिडेकी राप्ती नगरपालिका वडा नं ३ निवासी सुजीता भण्डारीको हत्या भएको घटनाप्रति गम्भीर ध्यानाआकर्षण भएको भन्दै अपहरणकारी हत्यारा पत्ता लगाई कारवाहीको मागसहित स्थानीय जनताको आन्दोलनप्रति ऐक्यबद्धता र समर्थन जनाएको छ ।
चितवन जिल्ला अध्यक्ष अन्जना तामाङको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो देशमा महिलाहरूले वर्तमान पितृसत्तात्मक पुँजीवादी दलाल राज्यसत्ताद्वारा लिङ्गीय र वर्गीय शोषण उत्पीडन भोगीरहेका छन् । वर्तमान पुँजीवादी सत्ताले उत्पीडित महिलाहरूको न्यायको आवजलाई कहिल्यै सुनेको छैन । महिलामाथि हिंसा, हत्या र बलात्कारका घटनाहरू दिनहँु घटिरहेका समाचारहरू सार्वजनिक भइरहेका छन् । यही सन्दर्भमा २०७८ असार ११ गते बिहान ६ बजे साथीको घरमा जाने भनेर हिडेकी राप्ती नगरपालिका वडा नं ३ निवासी सुजीता भण्डारी सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे फोन गरेर आफू अपहरणमा परेको बताएको परिवारका सदस्यहरूले बताएका छन् । तर राज्य प्रशासनले यस घटनाप्रति बेवास्ता गर्दै आएको थियो ।’


अध्यक्ष अन्जना तामाङको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सुजीता हराएको दश दिन पछि च्याउ टिप्न गएका स्थानीयले राप्ती नगरपालिकाको ब्रह्मास्थानी सामुदायिक वनको जङ्गलको झाडीमा मृत अवस्थामा भेटाएका थिए । दश दिन बितिसक्दा पनि प्रहरी प्रशासनले अनुसन्धान नगरेको कारण सुजीता भण्डारी मारिएको भन्दै अपहरणकारी हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै स्थानीय जनताले आन्दोलन गरिरहेका छन् । यस घटनाप्रति हाम्रो सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी चितवनको गम्भीर ध्यानाआकर्षण भएको छ ।’
अध्यक्ष तामाङको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो सङ्गठन स्थानीय जनताको माग र आन्दोलनप्रति ऐक्यबद्धता र समर्थन गर्दछ । साथै सुजीता भण्डारीको अपहरण पछि हत्या गर्ने हत्यारा पत्ता लगाई सार्वजनिक गरी कारवाही गर्न हाम्रो सङ्गठन अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी चितवन जोडदार माग गर्दछ । सुजीता भण्डारीको हत्यारालाई कारवाही गर्न बेवास्ता गरियो भने हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’

प्रतिक्रियाहरु

[anycomment]