पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न माग

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी निकट जवसले हेटौंडाको बुद्धचोकमा बिहिबार पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि, सुजिता भण्डारीको मृतुप्रकरण, शैक्षिक क्षेत्रमा र स्वास्थ्य क्षेत्रमा भएका विकृति, विसंगति लगायतको विषयमा विरोध प्रदर्शन गरेको छ। केन्द्रीय कार्यक्रम अनुसार हेटौंडाको बुद्धचोकमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुर, युवा संगठन नेपाल मकवानपुर र राष्ट्रिय जनसरकार मञ्चले आज संयुक्त रूपमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। हाल कोरोना महामारी र प्राकृतिक विपत्ति बाढी, पहिरोले देश र जनता आक्रान्त भइरहेको समयमा पनि पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि खारेज गर्न, चितवनको राप्ती-३ मा भएको सुजिता भण्डारीको घटनाको न्यायोचित छानबिन गरी पीडित पक्षलाई न्याय दिलाउनका साथै शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्रमा भएको विकृति, विसंगति र अनियमितता तत्काल बन्द गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै विरोध प्रदर्शन गरिएको हो। त्यस्तै दिनप्रतिदिन बढ्दै गइरहेको कोरोना महामारीको संक्रमणबाट आम नेपाली जनतालाई बचाउनका लागि समयमै सबै उमेर समूहका नागरिकहरुलाई निशुल्क खोपको व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ। त्यसै गरी फागुन २१ मा नेपाल कम्युनिस्ट पार्टी र सरकार बीच भएको ३ बुँदे सहमतिको दृढतापूर्वक पालना गर्नुका साथै निश्चित समयमा नै कार्यान्वयन गर्न समेत अपील गरेको छ।
बुद्धचोकमा सम्पन्न कार्यक्रममा अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान र राष्ट्रिय जनसरकार मञ्चका अध्यक्ष उमेश गुणीले सम्बोधन गरेका थिए।