एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न बैठक बस्न लागेको हो। हिजो बोलाइएको कार्यदलको बैठकमा सहमति जुट्न ढिलो भएपछि आजका लागि स्थायी कमिटी बैठक सारिएको थियो । बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
स्थायी कमिटी बैठकअघि कार्यदलका सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी गरेका छन् । हिजो भएको सहमतिमा दुई शीर्ष नेताहरुलाई समझदारी गराउने तयारी रहेको कार्यदल सदस्यहरुको भनाइ छ ।
पार्टी एकताको लागि कार्यदलले आइतबार सिंहदबारमा झन्डै १३ घण्टा बसेको बैठकले १० बुँदे सहमति जुटाएको छ । बैठकपछि नेता भीम रावलले पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउन १० बुँदे सहमति भएको जानकारी दिए । दुई पक्षबीच भएको सहमतिमा अन्तरविरोधलाई पार्टीभित्रै विधिसम्मत ढंगले समाधान गरिने, पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरुलाई २०७५ जेठ २ गतेको संगठनात्मक अवस्थाबाट क्रियाशील गरिने उल्लेख छ ।
त्यसैगरी एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कारबाहीहरु स्वतः बदर हुने, प्रतिनिधि सभा विघटन सम्बन्धी विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावना आधारमा विधिसम्मत अगाडि बढ्ने सहमतिमा उल्लेख छ । पार्टी तथा जनसंगठनहरु पूर्ववत अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुनसक्ने समस्याको निराकरण गर्न कार्यदल गठन गरिने, माओवादी पृष्ठभूमिबाट आएकाहरुलाई नेकपामा रहँदा सरहको कमिटीमा संगठित गर्न दुवै पक्ष सहमत भएका छन् ।
यसैबीच एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् । अध्यक्ष ओलीले असार २९ गते बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।
एमाले पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउन १० बुँदे सहमति :
