तीनबुँदे सहमति इमानदारीता पुर्बक कार्यान्वयन गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले तीनबुँदे सहमति इमानदारीता पुर्बक कार्यान्वयन गर्न माग गरेको छ। सो पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्लाका इन्चार्ज नयनले तीनबुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलासुस्ती गरिरहेको प्रस्ट पार्दै सहमतिप्रति सरकार इमानदार नभएमा पार्टी सङ्घर्षमा उत्रिने बताएका छन् । सङ्घर्षको परिणामको जिम्मेवार पनि सरकार आफैँ हुनुपर्ने उनले बताएका छन् ।
नेकपा मकवानपुरको १७ औँ पूर्ण बैठकका प्रमुख अतिथि नयनले जनमतसङ्ग्रह हुँदै वैज्ञानिक समाजवादसम्म पुग्नका लागि पार्टीका सबै नेता-कार्यकर्ता पार्टीको कार्यदिशा र रणनीतिप्रति स्पष्ट भई जनतामाझ जिम्मेवारीका साथ जानुपर्ने बताएका थिए । जिल्ला सेक्रेटरी वाटरको अध्यक्षतामा हेटौँडामा २७ गते सुरु भएको बैठक सोमबार सकिएको नेकपा मकवानपुरले जनाएको छ । बैठकमा पूर्वजिल्ला इन्चार्ज तथा वर्तमान जिल्ला सेक्रेटरी वाटरसहित सम्पूर्ण जिल्ला सदस्यले पार्टीका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य नयनलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
बैठकले १५ जना नयाँ जिल्ला सदस्य थप गरेको जनाइएको छ । नयाँ जिल्ला सदस्यलाई इन्चार्ज नयन, सेक्रेटरी वाटरसहित सचिवालय सदस्यहरूले स्वागत गरेका थिए । बैठकमा जिल्ला सदस्यहरुले आआफ्नो कार्यक्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए ।