दलितमाथिका अत्याचार अन्त्यका लागि निरन्तर सङ्घर्ष गर्ने उदघोष

२०७८ असार ३० गते, बुधबार


काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले जातीय विभेदका घटनाका साथै देशैभरि दलितमाथि भइरहेका विभेद र अत्याचारविरुद्ध मङ्गलबार राजधानीमा खबरदारीसभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमका वक्ताहरूले दैनिकरुपमा देशैभरि दलितमाथि भइरहेका भेदभाव, अपमान, हिंसा र अत्याचारका घटनामा राज्यले पीडककै संरक्षण गर्ने गरेको र त्यसको अन्त्यका लागि निरन्तर सङ्घर्ष गर्ने बताएका छन ।
उक्त सभालाई सम्बोधन गर्दै दलित मुक्ति मोर्चा नेपालका महासचिव रामलाल विश्वकर्माले रुपा सुनारमाथि विभेद गर्ने अभियुक्तलाई सरकारका शिक्षामन्त्री समेत रहेका कृष्णगोपाल श्रेष्ठले प्रहरी कार्यालयमै पुगेर छुटाएर घरसम्म पुर्याएको घटनाले राज्य कुन हदसम्म दलितमाथि दमनमा उत्रिँदो रहेछ भन्ने कुरा प्रष्ट्याएको बताए । उनले भने, ‘यो अमानवीय घटनामा राज्यले गरेको गम्भीर अपराध हो ।’ दैनिकरुपमा दलितमाथि यस्ता अत्याचारका घटना हुनु, महिलामाथि लैङ्गिक हिंसा जारी रहनु र विभिन्न जातजात र समुदायमाथिको दमन रोकिएको नरोकिनुको पछाडि राज्य पूर्णत जिम्मेवार रहेको बताउँदै उनले भने, ‘संसदीय व्यवस्थाले यस्तो विभेदलाई निरन्तरता दिइरहेको छ । यस्ता विभेदबाट मुक्तिका लागि संसदीय व्यवस्थाको बिकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थाना अनिवार्य छ । यसका लागि दृढतापूर्वक सङ्घर्ष गर्न जरुरी छ ।’
सो सभालाई बृहत नागरिक आन्दोलनका तर्फबाट युग पाठक, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन राजश्वरी सुवेदी लगायत, नेकपा (मसाल) का नेता जगतप्रसाद रेग्मी, दलित सङ्गठनका प्रतिनिधि र युवा तथा विद्यार्थीले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]