केजरीवालले मुख्यमन्त्रीको शपथ लिए
काठमाडौं, १३पौष । भारतको राजधानी दिल्लीमा छोटो समय मै लोकप्रिय बनेको आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले मुख्यमन्त्रीको शपथ लिएका छन् । सामाजिक अभियन्ता अन्ना हजारेको भ्रष्टाचार विरोधी अभियानमा सक्रियता जनाउँदै केजरीवालले दुई वर्षअघि मात्र पार्टी खोलेका थिए । केजरीवाल दिल्लीको सातौं मुख्यमन्त्री बनेका छन् । सार्वजनिक मेट्रो सेवाबाट उनी शपथ लिन रामलीला मैदान पुगेका थिए । शपथ ग्रहणपछि बोल्दै केजरीवालले दुई वर्षअघि आफूहरुले यसरी लडार्इं जित्ने सोच्दै नसोचेको बताए । उनले आफूहरुसँग सबै समस्याको समाधान गर्ने जादुको छडी नभएपनि दिल्लीका जनतासँग मिलेर समाधान निकाल्ने ढृढता व्यक्त गरे ।
भ्रष्टाचार विरुद्धको आन्दोलनमा सक्रियता देखाएका केजरीवालको आम आदमी पार्टीले सत्ताधारी कंगे्रस आईलाई दिल्ली विधानसभामा पराजित गरेको थियो । २८ सीट जितेको आम आदमी पार्टीलाई सरकार बनाउन भने बाहिरबाट कंग्रेसले नै समर्थन दिएको छ । चुनावअघि केजरीवालले राजनीतिमा भीआइपी संस्कृति समाप्त गर्ने घोषणा गरेका थिए । केजरीवालको शपथ ग्रहण समारोहमा भारतको स्वतन्त्रता दिवसका अवसरमा जम्मा हुने भन्दा धेरै मानिस जम्मा भएका बीबीसीले जनाएको छ ।