तीन बुँदे सहमति उलंघन नगर ‘

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले सरकार तीन बुँदे सहमतिको उलंघन गर्दै देशलाई पुनः द्वन्दमा फर्काउने गतिविधिमा लागेको भन्दै घोर भत्सर्ना गरेको छ। सो पार्टीका दार्चुला इचार्ज अग्नि धामी र सचिब भारत मल्लले संयुक्त बिज्ञप्ति जारी गर्दै दार्चुला जिल्ला सदस्य सुरेन्द्र विष्ट (सुर्य) र युवा संगठन नेपाल दार्चुलाका जिल्ला अध्यक्ष जीवन विष्टको नाममा जिल्ला अदालत दार्चुलाबाट ३५ दिने हदम्याद सहित पक्राउ पुर्जि जारी गरिएको घटनाको घोर भत्सर्ना गर्दै उक्त कार्यले पार्टीलाई आक्रोशित तुल्याएको बताएका छन । उनीहरुले पार्टीसँग जोडिएका घटनाहरुलाई कानुनको डन्डा देखाएर सहमति विपरीत गए पार्टी त्यसको शसक्त प्रतिरोध गर्न सक्षम रहेको भन्दै यस्ता हर्कत र गतिविधि रोक्न चेतावनी समेत दिएका छन ।
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टी दार्चुलाका इचार्ज अग्नि धामी र सचिब भारत मल्लले जारी गरेको संयुक्त बिज्ञप्ति यस्तो छ – “हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी देशको आमुल रुपान्तरण र दलाल संसदिय व्यवस्थाको खारेज गरी वैज्ञानिक समाजवाद ल्याउन संघर्षरत रहेको कुरा सबैमा सर्वविदितै छ । अहिले हाम्रो पार्टी सरकार सँग तीन बुँदे सहमति गरी वार्ताको प्रक्रियामा छ । यस प्रक्रियालाई भाँडन राज्यका जिम्मेवार निकायहरु नै उद्दत रहेको देखिन्छन । मिति २०७७ माघ १० गतेका दिन पार्टीको केन्द्रिय कार्यक्रम अनुसार नेपाल बन्द रहेको थियो । नेपाल बन्दको उलङघन गरी संचालनमा रहेको मिनि ट्रक (ढुवानी साधन) शैल्यशिखर न.पा.-९ को नकतड भन्ने ठाउँमा आगजनी भएको थियो । सो घटनालाई लिएर झुठा मुद्दा तयार गरी हाम्रो पार्टीका दार्चुला जिल्ला सदस्य सुरेन्द्र विष्ट (सुर्य) र युवा संगठन नेपाल दार्चुलाका जिल्ला अध्यक्ष जीवन विष्टको नाममा जिल्ला अदालत दार्चुलाबाट ३५ दिने हदम्याद सहित पक्राउ पुर्जि जारी गरिएको घटनाले हाम्रो पार्टीलाई आक्रोशित तुल्याएको छ । वार्ता भाड्ने र देशलाई पुनः द्वन्दमा फर्काउने गतिविधिको घोर भत्सर्ना गर्दछौं । पार्टीसँग जोडिएका घटनाहरुलाई कानुनको डन्डा देखाएर सहमति विपरीत गए हाम्रो पार्टी यसको शसक्त प्रतिरोध गर्न सक्षम रहेको कुरा अवगत गराउदै यस्ता हर्कत र गतिविधि रोक्न यसै प्रेस विज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छौं ।”