नेवाःमुक्ति मोर्चा काठमाडौंको अध्यक्षमा दिपक महर्जन चयन

काठमाडौं। नेवाःमुक्ति मोर्चा काठमाडौंको भेलाले दिपक महर्जनको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।नेपाल कम्युनिष्ट पार्टी निकट सो संगठनको नेकपाको केन्द्रीय सदस्य तथा काठमाडौ जिल्ला इन्चार्ज माइला लामाको विशेष उपस्थितिमा परोकार स्कुलमा सम्पन्न भएको हो । सो भेलामा नेकपाका काठमाडौं जिल्लाका सेक्रेटेरी, नेवाःमुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जन, महानगरका इन्चार्ज अविरल, १० वटै नगरपालिकाका इन्चार्ज तथा सेक्रेटरी, दलित मुक्ति मोर्चाका नन्द विक, युवा संगठन नेपालका जिल्ला अध्यक्ष टाइगर, महिला संगठनका अध्यक्ष करिस्मा खरेल, एकीकृत जनक्रान्तिका घाइते हरि खड्का, सहिद परिवारबाट रमेश श्रेष्ठका आमाको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा केन्द्रीय सदस्य एवं काठमाडौँका इन्चार्ज माइला लामाले शुभकामना मन्तव्य राख्दै देशमा दलाल पूजीवर्गको व्यवस्था अन्त्य गर्न किसान, मजदुर मध्यम वर्ग, श्रमिक वर्गलाई एकत्रित पारेर एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद व्यवस्था लागु गर्न लाग्नुपर्ने आवश्यकता रहेको बताए । पार्टीले अघि सारेका प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवाद नै अहिलेको संकटको उत्तम विकल्प भएको पनि बताए ।

कार्यक्रममा बोल्दै अर्का अतिथि नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले २००७ सालदेखि मुक्तिका लागि हरेक आन्दोलनमा संघर्ष, बलिदान तथा योगदान दिंदै आएता पनि दलाली सत्ताका कारण जातीय, वर्गीय मुक्ति हुन नसकेको बताए । उनले भने, अहिलेको राज्यसत्ता तथा दलाल पूजीपतिहरुले अतिकेन्द्रीकृतलाई विकेन्द्रीकृत गरेर सत्ता संचालन गरे यसले वर्गीय तथा जातीय समस्या हल गर्न सकेन, देश संघीयतामा गए उत्पीडनमा परेकाहरु सत्तामा सहभागी हुन्छन्, जातियताको हल हुन्छ भन्ने भ्रम मात्र फैलाए तर समस्या झन्झन् र्जर्जर रहेको छ । यो अवस्थामा नेपाल कम्युनिष्ट पार्टीले जबसम्म जनताको हातमा राज्यसत्ता ल्याउदैन तबसम्म जनताको समस्या हल हुदैन, त्यसैले आज नेवाः मुक्ति मोर्चाको भेला भएको छ ।
उक्त कार्यक्रममा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष नन्द विक, महिला संगठनका अध्यक्ष करिस्मा खरेल र जनपत्रकार संगठन काठमाडौंका संयोजक जितेन्द्र महर्जनले पनि शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सभापतित्व पूर्व उपाध्यक्ष रञ्जनमान श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य नेवाः मुक्ति मोर्चा काठमाडौँका सदस्य विरेन्द्रमान श्रेष्ठले राखेका थिए भने कार्यक्रमको संचालन नेवाः मुक्ति माोर्चाका सचिव निरज महर्जनले गरेका थिए ।