MCC खारेजीका लागि निर्णायक आन्दोलनमा उत्रन अपिल

काठमाडौँ । MCC खारेजीका लागि संयुक्त संघर्ष समिति,नेपालका संयोजक नारायण शर्माले MCC खारेजीका लागि संयुक्त र सशक्तरुपमा निर्णायक आन्दोलनमा उत्रनसमेत अपिल गरेका छन । संयोजक शर्माले एक बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन्।
यस बिषयमा MCC खारेजीका लागि संयुक्त संघर्ष समिति,नेपालका संयोजक नारायण शर्माले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “यसै हप्ता सम्भवत: आगामी बुधबार MCC कि उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आउँदै गरेको कुरा सार्वजनिक भएको छ ! उनीहरु नेपाल आउनुको कारण र उद्देश्य एउटै रहेको छ, त्यो हो MCC पास गराउन नेपालका नेता-शासकहरुलाई थप दवाव दिनु ! यस्तो अवान्छित उद्देश्य लिएर हुन लागिरहेको ती अधिकारीहरुको नेपाल भ्रमणको हामी घोर निन्दा-भत्सर्ना र खुला विरोध-भण्डफोर गर्न चाहन्छौं । हामीलाई आश्चर्य लागेको छ कि MCC मार्फत अमेरिकाले नेपाललाई सहयोग दिने भनिएको अनुदान नामको ५०० मिलियन डलर दिलाउनकै लागि अमेरिका किन यति धेरै जोडबल गरिरहेछ ? कसैलाई सहयोग दिनकै लागि दाता स्वयंबाट यस्तो जोरजुलम गरिनु आफैमा रहस्यमय र शंकास्पद छ !
त्यसमाथि अमेरिकी साम्राज्यवादले अनुदान-सहयोगका नाममा सामान्यतया सबैजसो सहयोग निकायबाट र विशेषत: MCC मार्फत विभिन्न देसहरुमा गरेका गतिविधि र गडबडीहरुलाई हेर्दा यसप्रकारको अनुदान अवान्छित मात्र होइन अस्वीकार्य नै हुन आउँछ । यस अझ अनुदान संझौताका थुप्रै प्रावधानहरु अध्ययन गर्दा त यो नेपालको विकासको होइन विनासको कुनीति र कुनियत बोकेर आएको स्पष्ट देखिन्छ । त्यसैले यसलाई कुनै पनि हालतमा अनुमोदन नगरी खारेज नै गर्नुपर्छ भन्ने हाम्रो ठहर छ । एकातिर हालसम्म आएका यस्ता अनुदानहरुबाट देसले भोग्नु परेको विदेसी दवाव र अर्कातिर त्यो रकमको दुरुपयोग हेर्दा पनि यसप्रकारका अनुदानको खास कुनै अर्थ र उपादेयता नभएको समेत छर्लङ्ग नै छ !
एक त विभिन्न अनुचित शर्त, प्रावधान र दवावद्वारा दिइने र लिइने यस्ता अनुत्पादक क्षेत्रका अनुदानहरुले केबल उपभोक्तावादलाई प्रश्रय दिने गर्दछन् र गरिरहेका छन् भने दोस्रो यस्ता अनुदान लिने देसहरुलाई अनुदान दिने देसहरुमाथि परनिर्भर गराई अन्ततः अनुदान लिने देसको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, अखनण्डता, शान्ति, समृद्धि र स्वत्व-अस्तित्वमाथि नै गम्भीर खतरा पैदा गर्दछन् र गरिरहेका नै छन् । नेपाल र MCC बिच भएको यो सम्झौतालाई हाम्रो राष्ट्रिय हितअनुकूल हुने गरी संशोधन-परिमार्जन गर्न नसकिने कुरा सम्झौतामै उल्लेख गरिएको छ ! साथै यो कुरा अमेरिकी अधिकारीहरुले यसमा त्यसरी संशोधन गर्न नसकिने कुरा लिखित-मौखिक र संस्थागत-व्यक्तिगत दुवै रुपमा बारम्बार गरिसकेका छन् ।

तथापि नेपालले केही कुराहरु थप स्पष्ट पार्न भनी अमेरिकालाई पत्र लेखेर केही प्रश्नहरु पठाई थप स्पष्टताको लागि अनुरोध गरेको छ । यो परियोजना नेपालको इच्छा र आवश्यकताले नभएर अमेरिकी विश्वव्यापी रणनीतिक योजना अनुसार ल्याइन लागेकोले नेपाली जनतालाई भ्रमित पार्ने र शासकहरुलाई सम्झौता अनुमोदन गर्ने चोर दुलो मिल्नेगरी गलत, भ्रामक र झुठ्ठा जवाफ सहित यी अधिकारीहरु नेपाल आउने सम्भावनालाई नकार्न सकिन्न ।
यसैगरी जवाफ दिनुभन्दा फिर्ता लैजाने धम्की दिने वा हाललाई स्थगन गर्ने सम्भावना पनि छ ! यो अवस्थामा नेपाल सरकारमा विग्रह पैदा हुने र MCC समर्थकहरुको सरकार बन्ने र पारित हुने वा यो सरकारले “अडान” लिएकोले MCC पारित नभै फिर्ता गएको वा स्थगन भएको डङ्का पिटेर दलालहरुले विगतमा ओलीले नाकाबन्दीका बेला लिएझैं “अडान” लिएर आफू खाँटी राष्ट्रवादी भएको भ्रम छर्दै आगामी चुनावलाई प्रभावित गर्ने खतरा पनि छ । जे होस्, अंशमा मात्रै होइन समग्रमा, रुपमा मात्र होइन सारमा पनि र नीतिमा मात्र होइन नियतमा समेत सर्वाधिक खतरनाक रहेको MCC सँग नेपालले गरेको यो सम्झौता संशोधन, परिमार्जन, स्पष्टीकरण वा हाललाई स्थगन अथवा यस्तै कुनै चाल चलेर यस्लाई राष्ट्रहित अनुकूल बनाउने कुरा असम्भव छ । त्यसैले यो नेपाल र नेपालीलाई किमार्थ स्वीकार्य छैन । अत: यो पूर्णरुपले खारेजयोग्य छ ।
तसर्थ, MCC मार्फत लिन-दिन लागिएको यो अनुदानलाई अस्वीकार गर्न नेपाल सरकारलाई र फिर्ता लैजान अमेरिकी सरकार/MCC र तिनका नेपाल आइरहेका अधिकारीहरुलाई समेत हामी हार्दिक आग्रह गर्न चाहन्छौं । हाम्रो यो आग्रह र आम जनताको आवाजलाई बेवास्ता गरेर हठात्, बलात् र छलछामपूर्ण तरिकाले यो कथित सहयोग दिने-लिने काम नेता-शासकहरुबाट हुन्छ भने यो एउटा ठूलो र विचित्रको विडम्बनापूर्ण विष्फोट र विद्रोह नै हुनेछ जो जायज, स्वाभाविक, क्रान्तिकारी, देसभक्तिपूर्ण र न्यायपूर्ण त हुनेछ नै, साथै नेपालको राष्टृय हितविपरीत जबर्जस्ति गर्ने देसविरोधी र जनविरोधी शासकहरु तथा उनीहरुद्वारा गरिने यसप्रकारका हरकतहरुका विरुद्ध समेत ठुलो र ठाडो चुनौती पनि हुनेछ !
स्मरण रहोस्, यदी यो MCC सँगको सम्झौता विभिन्न चलखेल, जालझेल, बहानाबाजी र षड्यन्त्र आदि केही गरी जबर्जस्ति नेपालको संसदबाट पारितगरेर लागू गरियो भने यसैका कारण नेपालमा अमेरिकाविरोधी जनभावना गुणात्मक रुपले यसरी र यति वृद्धि हुनेछ कि अहिले अमेरिकाको जो छवि र प्रभाव रहिआएको छ, त्यो ध्वस्त हुनेमात्र होइन अमेरिकालाई अफगानिस्तानबाट लखेटिनु परेझैं सदा स्वतन्त्र र सार्वभौम राष्ट्र नेपाल र बहादुर नेपाली जनताबाट पनि सधैका लागि पुच्छर सेपेर लखेटिनै पर्ने अवस्था आउने छ भन्ने कुरा यसै खुला विरोधपत्र मार्फत जानकारी गराउन चाहन्छौं !
ठिक यसरी नै नेपालका वर्तमान जनविरोधी र राष्ट्रविरोधी शक्ति-व्यक्ति , संघ-संस्था, नेता-शासक र विधि-व्यवस्थाको समेत समूल समाप्ति हुने अवस्था पनि बन्नेछ ! त्यसको लागि चरम राष्ट्रघाती MCC सम्झौताको खारेजीको पक्षमा रहेका सम्पूर्ण राजनीतिक शक्तिहरु, संघ-संस्थाहरु, अभियान-आन्दोलनहरु र व्यक्ति-व्यक्तित्वहरु सबैलाई यसका विरुद्ध संयुक्त र सशक्तरुपमा निर्णायक आन्दोलनमा उत्रनसमेत हामी जोडदार अपिल गर्दछौं । “