जनपत्रकार सङ्गठन कालीकोटको अध्यक्षमा खडक विश्वकर्मा

काठमाडौँ । जनपत्रकार सङ्गठन नेपाल कालीकोटको दोस्रो जिल्ला सम्मेलनले खडक विश्वकर्माको अध्यक्षतामा १५ सदस्सीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष जनसरा ऐडी, सचिव कर्ण परियार, सह–सचिव पम्फा विक, कोषाध्यक्ष सोविना विक रहेका छन् । यस्तै अन्य जिल्ला कार्यसमितिका सदस्यहरूमा धिरबहादुर फर्साल, विकास विक, चिरञ्जीवी तिरुवा, रत्न न्यौपाने, बहादुरे विक, रेशम विक, प्रकाश साउँद र रामप्यारी विक रहेका छन् । “आस्था विचार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको शुनिश्चितता, श्रमजीविको हकहित जनपक्षीय पत्रकारिताको विकासमा हाम्रो प्रतिबद्धता” भन्ने मुलनाराका साथ दोस्रो जिल्ला सम्मेलन ऐतिहासिक रुपमा सम्पन्न भएको बताइएको छ ।
उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपा कालीकोटका जिल्ला इन्चार्ज कर्ण भण्डारी ‘विराट’ ले नेपालमा संसदीय व्यवस्था पूर्ण असफल भएको दावी गरे । उनले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने पत्रकारिता नेपालमा आवश्यक भएको वताएका थिए । विराटले लोकतन्त्र र प्रजातन्त्रको उत्कृष्ट अभ्यास चुनाव भएकाले अव व्यवस्था परिवर्तनको चुनावका लागि संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतसङ्ग्रहमा जानुपर्ने धारणा राखे । उनले भने, “वैज्ञानिक समाजवाद कुनै नेकपाको मात्र नारा होइन, यो त सवै गरिव, श्रमजीवी सर्वहारावर्गको नारा हो सबै कम्युनिस्टहरूले भन्दै आएको नारा हो ।”
त्यसैगरी सम्मेलनको उद्घाटन सत्रमा नेकपाका जिल्ला सेक्रेटरी रणदिपले सम्बोधन गर्दै वैज्ञानिक समाजवादको विकल्प नभएको भन्दै जनमसङ्ग्रहमा जानुपर्ने बताए । उनले देश लुटिखाने व्यवस्था भएकाले पुँजीपति वर्गको लुटिखाने व्यवस्थालाई पत्रकार, बुद्धिजीवी, वकिल, देशभक्त, क्रान्तिकारी सबै मिलेर हटाउनु पर्ने धारणा राखे । यस्तै नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष भरतराज विष्टले पुँजीवादी व्यवस्था र जनताको व्यवस्थाबीच सङ्घर्ष हुने गरेको बताए । पत्रकारहरूले निष्पक्ष भएर सूचना सम्प्रेसण गर्न पनि विष्टले आग्रह गरे ।
मन्तव्यका क्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष कालिबहादुर मल्ल र तुलाराम पाण्डेले पत्रकारहरूले परिवर्तनको पक्षमा कलम चलाउनुपर्ने बताए । यस्तै नेकपाका जिल्ला सल्लाहाकार समिति संयोजक छत्रबहादुर वम ‘समग्र’ ले पत्रकार जनताको पक्षमा कलम चलाउने हुनुपर्ने बताए ।
सम्मेलनको बन्द सत्रमा “क्रान्तिकारी पत्रकारहरूको ऐतिहासिकता र कार्यभार” भन्ने शिर्षकमा सात पृष्ठ लामो पेस भएको प्रतिवेदन सर्वसहमतिले पारित गरेको छ । प्रतिवेदनमा जिल्लाको हालसम्मको क्रान्तिकारी पत्रकारहरूको ऐतिहासिक पृष्ठभूमि सङ्गठनले गरेका काम कारवाही र आगामी कार्ययोजनाबारे उल्लेख गरिएको छ । यो प्रतिवेदन पारितसँगै जनपत्रकार सङ्गठन नेपाल कालीकोटले सांगठनिक काम, समाचार सम्प्रेशणको काम लगायतका विषयमा गतिशील भएर काम गर्ने आसा गरिएको छ ।
मुख्यगरी सम्मेलनले प्रदेश र राष्ट्रिय सम्मेलनको तयारी गर्ने र असफल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादको पक्षमा जनजागरण गर्ने निर्णय गरेका छ । सम्मेलनमा प्रतिनिधि पर्यवेक्षकसँगै विभिन्न मिडियाबाट आएका प्रतिनिधि तथा अन्य व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कर्ण विश्वकर्माको अध्यक्षमा सञ्चालित दोस्रो जिल्ला सम्मेलनको सञ्चालन खडक विश्वकर्माले गरेका थिए ।